तिलिचो तालमा अब नेपाल टेलिकमको फोरजी सेवा, मन्त्रीद्वारा भिडियो कलमार्फत परीक्षण

काठमाडौं : विश्वकै सबैभन्दा अग्लो स्थानमा अवस्थितमध्ये एक तिलिचो ताल क्षेत्रमा नेपाल टेलिकमले आफ्नो उच्च गतिको फोरजी इन्टरनेट सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।
सेवा शुरू भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रीले तिलिचोमै रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग प्रत्यक्ष भिडियो कल गरी सेवाको गुणस्तर परीक्षण गरेका छन्।
आफ्नो कार्यालयबाट गरिएको भिडियो कलमा मन्त्रीले खुसी व्यक्त गर्दै भने, ‘अहिले तपाईं तिलिचो आसपासको क्षेत्रबाटै मसँग फोरजीमार्फत कुरा गरिरहनुभएको छ। यो कसरी सम्भव बनाउनुभयो? म धेरै खुसी छु।’
उनले दुर्गम क्षेत्रमा भ्वाइस र डेटा दुवै पुर्याउने सरकारको लक्ष्यमा यो एक महत्वपूर्ण उपलब्धि भएको बताए।
तिलिचो क्षेत्रमा रहेका टेलिकमका फिल्ड इन्जिनियर गुप्ताले यो सफलता स्थानीय वडा अध्यक्षको पहल र नेपाल टेलिकमको प्रयासबाट सम्भव भएको जानकारी दिए। उनले भिडियो कलमा तिलिचो ताल र वरपरको सुन्दर हिमाली दृश्य देखाउँदै भने, ‘अब यहाँ आउने पर्यटक र स्थानीयले सहजै आफ्नो परिवारसँग सम्पर्क गर्न सक्नेछन्।’
फोरजी सेवा विस्तारले तिलिचो घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले उच्च गतिको इन्टरनेटमार्फत आफ्नो अनुभव र तस्बिरहरू तत्कालै संसारसामु पुर्याउन सक्नेछन्, जसले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ भने उच्च हिमाली क्षेत्रमा लेक लाग्ने जस्ता स्वास्थ्य समस्या हुँदा तत्काल उद्धारका लागि सम्पर्क गर्न यो सेवा निकै प्रभावकारी हुनेछ।
त्यसैगरी फोरजी सेवाले गर्दा अब तिलिचो क्षेत्रका होटल तथा व्यवसायीहरूले डिजिटल भुक्तानी सहजै स्वीकार गर्न सक्नेछन्, जसले नगद बोक्नुपर्ने झन्झट अन्त्य हुनेछ भने विकट क्षेत्रका बासिन्दाहरूले देश-विदेशमा रहेका आफन्तसँग सहजै भिडियो कलमार्फत जोडिन सक्नेछन्।
यस्तो कठिन र चिसो मौसममा समेत सेवा विस्तार गर्न खटिएका प्राविधिक टोली, स्थानीय सरकार र नेपाल टेलिकम परिवारलाई मन्त्रीले धन्यवाद दिँदै यो सफलताको श्रेय उनीहरूलाई नै जाने बताए। यो सेवा विस्तारले नेपालको दुर्गम क्षेत्रलाई डिजिटल युगसँग जोड्ने अभियानमा एक महत्वपूर्ण कोशेढुङ्गा थपेको छ।
असोज ३१, २०८२ शुक्रबार १२:३५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।