बंगलादेशमा विद्यार्थी आन्दोलन दबाउन भूमिका खेलेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

एजेन्सी : बंगलादेशको अभियोजन पक्षले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ।
उनीमाथि गत वर्ष भएको विद्यार्थी प्रदर्शनलाई दमन गर्ने क्रममा मानवता विरुद्धको अपराध गरेको गम्भीर आरोप लगाइएको छ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलन निकै हिंसक बनेको थियो, जसमा सुरक्षाकर्मीको कारबाहीमा परी धेरै मानिसको मृत्यु भएको थियो। यही हिंसात्मक घटनापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।
हसिना हाल भारतमा शरण लिएर बसिरहेकी छिन्। उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप सार्वजनिक भएको छ, जसमा उनले कथित रूपमा सुरक्षा बललाई प्रदर्शनकारीमाथि ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको सुनिन्छ। यद्यपि, हसिनाले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएकी छिन्।
गत वर्षको उक्त हिंसामा करिब १४ सय मानिसको ज्यान गएको थियो। यसलाई बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भीषण हिंसा मानिन्छ।
बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनालाई १४ सय पटक मृत्युदण्ड दिनुपर्छ। तर यो मानवीय रूपमा सम्भव नभएकाले हामी कम्तिमा एक पटक मृत्युदण्डको माग गर्दछौँ।’
असोज ३१, २०८२ शुक्रबार ११:३७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।