चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन : चितवनको भरतपुरमा शुक्रबार दिउँसो पर्यटक बसको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा गोरखा निवासी ४० वर्षीय दामोदर घिमिरेको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार दिउँसो करिब १२:४५ बजे भरतपुर महानगरपालिका-१ रामनगरमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०१-००१ प १६८४ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट आउँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक घिमिरेको अनुहारमा गहिरो चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारकै क्रममा दिउँसो १:२३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक धादिङको सिद्धालेख गाउँपालिका-३ बस्ने ३६ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ। मृतक घिमिरेको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

असोज ३१, २०८२ शुक्रबार ११:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।