अलराउन्ड प्रदर्शनमा असिम चम्किए, कतारद्वारा सामोआ ८ विकेटले पराजित

अलराउन्ड प्रदर्शनमा असिम चम्किए, कतारद्वारा सामोआ ८ विकेटले पराजित

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत भएको खेलमा कतारले सामोआलाई ८ विकेटले पराजित गरेको छ।

कतारको सहज जितमा अलराउन्ड प्रदर्शन गरेका मोहम्मद असिम ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले अविजित अर्धशतक बनाउनुका साथै २ महत्त्वपूर्ण विकेट लिएका थिए।

खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित भएका असिमले कतारका लागि उत्कृष्ट प्रदर्शन गरे। उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ३० बलमा अविजित ५३ रन बनाए।

त्यसअघि बलिङमा पनि उनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए। पुरस्कार ग्रहण गर्दै उनले यो सफलताका लागि भगवानलाई धन्यवाद दिए।

‘प्रशिक्षकको योजनाअनुसार आफ्नो खेल सरल राख्दा सफलता मिलेको हो’, उनले भने।

कतारका कप्तान मिर्जा मोहम्मद बेगले पछिल्ला खेलहरूमा भएका गल्तीबाट सिक्दै टोलीले उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे।

उनले भने, ‘टोलीमा अहिले एकअर्काप्रति ठूलो विश्वास छ, जसले गर्दा मैदानमा प्रदर्शन गर्न सजिलो भएको छ।’

उनले यो जितले टोलीको आत्मविश्वास बढाएको र सन् २०२८ को विश्वकपमा छनोट हुने लक्ष्य रहेको बताए। कप्तान बेग प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन्।

पराजित टोली सामोआका कप्तान कालेब जास्मातले आफ्नो टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनले पिच ब्याटिङका लागि केही कठिन रहेको र १२६ रनको स्कोर रक्षा गर्न पर्याप्त नभएको बताए।

‘चोटका कारण टोलीमा १२ जना मात्र फिट खेलाडी छन्। यो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु नै ठूलो कुरा हो’, उनले भने।

उनले आफ्नो अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी नेपालको सामना गर्न तयार रहेको पनि बताए।

असोज ३१, २०८२ शुक्रबार ०९:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।