१४ वर्षदेखि अलपत्र कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरू

काठमाडौं : सरकारले वर्षौंदेखि सडक र पुल निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीहरूका रुग्ण ठेक्का तोड्ने प्रक्रियालाई तीव्रता दिएको छ।
पहिलो चरणमा सडक विभागअन्तर्गतका विभिन्न कार्यालयले १७ वटा रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना जारी गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न दिएको निर्देशनपछि यो प्रक्रिया अघि बढेको हो। हाल सडक विभागअन्तर्गत मात्रै २५८ वटा ठेक्का रुग्ण अवस्थामा छन्।
विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय (काठमाडौं र इटहरी) मातहतका डिभिजन कार्यालयहरूले यी ठेक्का तोड्न सूचना निकालेका हुन्।
तोड्न लागिएका ठेक्कामध्ये सबैभन्दा ठूलो झापाको कन्काई नदीको पुल हो। हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने करिब ७२३ मिटर लामो यो पुलको ठेक्का १४ वर्षदेखि अलपत्र छ।
आर्थिक वर्ष २०६७/६८ मा पप्पु-महादेवखिम्ती जेभीसँग सम्झौता भएको यो पुलको भौतिक प्रगति हालसम्म ५५ प्रतिशत मात्रै छ। मन्त्री घिसिङले गत साता स्थलगत निरीक्षण गर्दै पुल निर्माणबारे छिट्टै निर्णय लिइने बताउनुभएको थियो।
सूचनामा ठेक्का तोड्नुपर्नाको कारणबारे भनिएको छ, ‘पटक-पटक म्याद थप गर्दा पनि निर्माणमा चासो नदेखाएको, व्यवसायी लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको र लिखित तथा मौखिक अनुरोधलाई बेवास्ता गरी सम्झौता उल्लङ्घन गरेकोले ठेक्का किन नतोड्ने?’
कार्यालयहरूले निर्माण व्यवसायीलाई १५ दिनभित्र आधिकारिक व्यक्ति उपस्थित भई स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएका छन्।
उक्त अवधिमा काम शुरू गर्ने प्रतिबद्धता र भरपर्दो कार्यतालिका पेश गर्न नसके सार्वजनिक खरिद ऐनअनुसार कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
असोज ३१, २०८२ शुक्रबार ०९:१७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।