विश्वकप छनोटको उपाधिका लागि अपराजित नेपाल आज सामोआसँग भिड्दै

विश्वकप छनोटको उपाधिका लागि अपराजित नेपाल आज सामोआसँग भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज एसिया र इस्ट एसिया प्यासिफिट छनोटको उपाधिका लागि सामोआको सामना गर्दैछ।

ओमानको अल अमारात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरू हुनेछ।

प्रतियोगितामा अपराजित रहेको एक मात्र टोली नेपाल सुपर सिक्सको अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ।

आज तुलनात्मक रूपमा कमजोर मानिएको सामोआलाई पराजित गरेमा नेपाल सोझै च्याम्पियन बन्नेछ। नेपाल र सामोआबीच टी-२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो।

तर, यदि आजको खेलमा नेपाल पराजित भएमा र अर्को खेलमा आयोजक ओमानले जापानलाई हराएमा उपाधि विजेताको टुङ्गो नेट रनरेटका आधारमा लाग्नेछ। ओमान ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

एक दिनअघि घरेलु टोली ओमानलाई ८ रनले हराएपछि कप्तान रोहित पौडेलले टोलीको लक्ष्य अब उपाधि जित्नु रहेको बताएका छन्।

‘हामीले गरेको मेहनतअनुसारको नतिजा पाएका छौँ र अब हाम्रो नजर ट्रफीमा छ’, उनले भने।

कप्तान पौडेलले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

असोज ३१, २०८२ शुक्रबार ०८:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।