मोदीले रुसी तेल नकिन्ने वाचा गरेको ट्रम्पको दाबी, भारतले भन्यो- कुराकानी नै भएको छैन

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद नगर्ने वाचा गरेको सनसनीपूर्ण दाबी गरेका छन्। तर, भारतीय विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई ठाडै अस्वीकार गर्दै दुई नेताबीच कुनै कुराकानी नै नभएको स्पष्ट पारेको छ।
ट्रम्पले भारतले रुसबाट तेल खरिद गरिरहेकोमा आफू खुसी नभएको बताउँदै अब चीनलाई पनि यस्तै गर्न लगाउनुपर्ने बताएका थिए। रुसबाट तेल किनेको भन्दै अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त शुल्क लगाएको छ, जससँगै भारतमाथि लगाइएको कुल अमेरिकी शुल्क ५० प्रतिशत पुगेको छ।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘हालै भारतका लागि अमेरिकी राजदूत बन्न लागेका सर्जियो गोर र प्रधानमन्त्री मोदीबीच भेट भएको थियो। त्यसपछि सर्जियोले मलाई भने कि उहाँ (मोदी) ट्रम्पलाई माया गर्नुहुन्छ। यद्यपि, म यहाँ माया शब्दको गलत अर्थ ननिकालियोस् भन्ने चाहन्छु, म कसैको राजनीतिक करियर खराब गर्न चाहन्न।’
उनले थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेरेको छु, त्यहाँ हरेक वर्ष सरकार बदलिन्छ। मेरा साथी (मोदी) लामो समयदेखि त्यहाँ छन्। उहाँले भारतले अब रुसबाट तेल नकिन्ने विश्वास दिलाउनुभएको छ। यद्यपि उहाँले यसलाई तुरुन्तै रोक्न सक्नुहुन्न, तर यसको एउटा प्रक्रिया छ जुन छिट्टै पूरा हुनेछ।’
ट्रम्पको दाबीबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, ‘भारत तेल र ग्यासको ठूलो खरिदकर्ता हो। जनताको हितको रक्षा गर्नु हाम्रो प्राथमिकता हो र हाम्रो आयात नीति यही उद्देश्य पूरा गर्न केन्द्रित छ।’
उनले थपे, ‘हाम्रो ऊर्जा नीतिका दुई लक्ष्य छन्- स्थिर मूल्य र सुरक्षित आपूर्ति। यसका लागि हामी ऊर्जा स्रोतहरूलाई फराकिलो बनाउँछौँ र बजारको अवस्थाअनुसार विविधता ल्याउँछौँ। जहाँसम्म अमेरिकाको सवाल छ, हामीले धेरै वर्षदेखि ऊर्जा खरिद विस्तार गर्ने प्रयास गरिरहेका छौँ र यसमा प्रगति पनि भएको छ।’
ट्रम्पको दाबीपछि भारतीय विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि निशाना साँधेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री मोदी डराएका छन्।’
उनले मोदीमाथि भारतले रुसी तेल नकिन्ने निर्णय र घोषणा ट्रम्पलाई गर्न दिएको, बारम्बार बेवास्ता हुँदा पनि ट्रम्पलाई बधाई सन्देश पठाइरहेको, अर्थमन्त्री निर्मला सीतारमणको अमेरिका भ्रमण रद्द गरेको, आफैँ इजिप्टको शर्म अल-शेख शिखर सम्मेलनमा नगएको, अपरेसन सिन्दूरबारे ट्रम्पको बयानको विरोधसमेत नगरेको आरोप लगाए।
यसै विषयमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोवले पनि प्रतिक्रिया दिए। उनले भने, ‘भारतलाई रुसी तेल आपूर्तिमा निरन्तर सहयोग चलिरहेको छ र यो भारतीय अर्थतन्त्र र जनताका लागि धेरै लाभदायक छ। हामी हस्तक्षेप गर्दैनौँ, यो भारत र अमेरिकाबीचको मामिला हो।’
असोज ३१, २०८२ शुक्रबार ०८:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।