ट्रम्प र पुटिनबीच २ घण्टा लामो फोन वार्ता : रुस-युक्रेन युद्धबारे अन्त्य गर्ने चर्चा, जेलेन्स्की आजै अमेरिका पुग्दै

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब दुई घण्टा लामो फोन वार्ता भएको खुलासा गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप सैन्य सहायता माग्न आज अमेरिकाको भ्रमण गर्न लागेको समयमा दुई शक्ति राष्ट्रका प्रमुखबीच यो महत्वपूर्ण कुराकानी भएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘पुटिनसँगको कुराकानी निकै उत्कृष्ट रह्यो। उहाँले मध्यपूर्वमा शान्ति स्थापनाका लागि मलाई र अमेरिकालाई बधाई दिनुभयो।’
ट्रम्पका अनुसार, पुटिनले मध्यपूर्व शान्तिलाई निकै पुरानो सपना भनेका थिए। ट्रम्पले मध्यपूर्वमा प्राप्त सफलताले रुस-युक्रेन युद्ध अन्त्य गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
फोन वार्ताका क्रममा पुटिनले प्रथम महिला मेलानिया ट्रम्पको प्रशंसा गर्दै उनले बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको बताएका थिए। दुई नेताबीच युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीचको व्यापारिक सम्बन्धबारे पनि छलफल भएको थियो।
वार्तापछि ट्रम्प र पुटिनले आगामी हप्ता आफ्ना उच्च अधिकारीहरूको बैठक गर्ने सहमति गरेका छन्। अमेरिकाको तर्फबाट विदेशमन्त्री मार्को रुबियोसहितको टोली सहभागी हुनेछ, यद्यपि बैठकको स्थान भने तय भइसकेको छैन।
त्यसलगत्तै, रुस-युक्रेन युद्ध अन्त्य गर्ने ठोस प्रयासका लागि ट्रम्प र पुटिन हंगेरीको राजधानी बुडापेस्टमा भेट्न सहमत भएका छन्।
यो घटनाक्रम यस्तो बेला भएको हो जब युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीमा मार हान्न सक्ने ’टमहक मिसाइल’ जस्ता अत्याधुनिक हतियार माग्ने तयारी गरेका छन्। यी मिसाइलले मस्को र अन्य प्रमुख रुसी सहरहरूलाई युक्रेनको आक्रमणको दायरामा ल्याउनेछन्।
ट्रम्पले यदि पुटिन वार्ताको टेबलमा आउन तयार नभए युक्रेनलाई यी हतियार दिन सकिने सङ्केत दिएका छन्। यसलाई उनले पुटिनमाथि वार्ताका लागि दबाब दिने रणनीतिका रूपमा प्रयोग गरेको देखिन्छ।
रुसले हालै युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र बनाएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार, बिहीबार राति मात्रै रुसले ३०० भन्दा बढी ड्रोन र ३७ वटा मिसाइल प्रहार गरेको थियो। युद्धको चौथो वर्ष सुरु भएसँगै रुसले युक्रेनको ऊर्जा प्रणालीलाई निशाना बनाइरहेको छ। बारम्बार युद्ध अन्त्य गर्ने वाचा गरेका ट्रम्प पुटिनको लगातारको आक्रमणबाट असन्तुष्ट रहेको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार, अमेरिकाले युक्रेनलाई सिधै ‘टमहक मिसाइल’ दिनुको सट्टा नेटो सदस्य राष्ट्रहरूलाई बेच्न सक्छ, जसले ती हतियार युक्रेनलाई हस्तान्तरण गर्नेछन्।
रुसले भने यसको विरोध गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले केही समयअघि भनेका थिए, ‘यी मिसाइलले युद्धको मैदानमा कुनै ठूलो परिवर्तन ल्याउने छैनन्, तर प्रश्न यो हो कि यसको निशाना अमेरिकाले तय गर्छ कि युक्रेनले।’
‘टमहक मिसाइल’ले युक्रेनलाई रुसको भित्री भूभागमा रहेका सैन्य अखडा, वायु रक्षा प्रणाली र लजिस्टिक केन्द्रहरूलाई निशाना बनाउन सक्षम बनाउनेछ। यी मिसाइलहरू युक्रेनसँग हाल रहेको एटीएसीएमएस मिसाइल (३०० किमि रेन्ज) भन्दा धेरै टाढासम्म मार हान्न सक्छन्।
असोज ३१, २०८२ शुक्रबार ०७:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।