‘जेन-जी राज’मा पनि रोकिएन भ्रष्टाचार, रंगेली नगरपालिकाको साढे चार करोडको टेन्डर प्याकेज बनाएर लक्ड

‘जेन-जी राज’मा पनि रोकिएन भ्रष्टाचार, रंगेली नगरपालिकाको साढे चार करोडको टेन्डर प्याकेज बनाएर लक्ड

काठमाडौं : भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै जेन-जी पुस्ताले गरेको दुई दिने आन्दोलनमा ७५ बढीको ज्यान गयो। वर्तमान प्रधानमन्त्री प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमा भाग्नुपर्यो। सुशासन कायम गरेर ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी लिएर सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको पनि एक महिना भयो।

तर हिजोका दिनमा जस्तो शैलीको भ्रष्टाचारको जालो थियो अहिले पनि त्यो भने भत्किएन। विशेषतः स्वास्थ्य सामग्री तथा उपकरण खरिदको प्रक्रियाहरू पुरानै शैलीमा निश्चित व्यापारिक समूहलाई फाइदा पूर्याउनेगरि अगाडि बढिरहेको छ।

अहिले मोरङको रंगेली नगरपालिकाले अगाडि बढाएको करिब चार करोड ४० लाखको ‘मोडुलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप’ सम्बन्धी खरिदका लागि अगाडि बढेको टेन्डर प्रक्रियामा भएको अनियमितताबारे उल्लेख गरौँ।

रंगेली नगरपालिकाले रंगेली अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्री दिन २०८२ असोज ६ (२०२५, सेप्टेम्बर २१) मा टेन्डर आह्वान गरेको थियो। एउटै टेन्डरमा मुख्य ‘१६’ किसिमका सामग्रीको प्याकेज बनाएर चार करोड ४० लाखमा ‘मोडुलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप’ सम्बन्धी मेसिन, औजार तथा उपकरण किन्न गरिएको टेन्डर आव्हानका कागजातले निश्चित मेसिन तथा उपकरण सप्लायर्सको हितमा अगाडि बढाइएको पुष्टि हुन्छ।

नगरपालिकाले आह्वान गरेको टेन्डरको कागजातमा, ‘दी प्रक्रुमेन्ट अफ मोडुलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप फर रंगेली अस्पताल’ लेखिएको छ। यसको अर्थ सो सामग्री नगरपालिकाले किनेर रंगेली अस्पताललाई दिन टेन्डर आव्हान गरिएको देखिन्छ।

रंगेली नगरपालिकाले अगाडि भएको खरिदलाई स्वतन्त्र प्रतिस्पर्धा हुन नदिन फरक–फरक प्रकृतिका मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीलाई एउटै प्याकेजमा राखेर स्पेसिफिकेशनहरु लक्ड गरिएको छ। प्याकेजमा राखिएका सामग्री र उपकरण र त्यसको स्पेसिफिकेशनका मापदण्डहरू हेर्दा निश्चित उत्पादक कम्पनीका उत्पादनसँग मात्रै मिल्नेगरी बनाइएको पुष्टि भयो।

भ्रष्टाचार गर्न १६ सामग्रीको एउटै प्याकेज

संशोधित भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र रंगेली नगरपालिकाले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने यो सिधै भ्रष्टाचार देखिन्छ।

भ्रष्टाचार निवारण ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।

रंगेली नगरपालिकाले ‘मोडुलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप’ सम्बन्धी उपकरण खरिद गर्ने भनेर अगाडि बढाएको प्रक्रियामा समावेश गरिएका स्वास्थ्य उपकरण तथा सामग्री भिन्न भिन्न प्रयोजनमा प्रयोग हुने देखिन्छ।

ओटी सेटअप भनेर अगाडि बढेको खरिद प्रक्रियामा राखिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू त्यससँग सम्बन्धितै देखिँदैन। तर टेन्डर कागजातमा ‘बिडर्स स्याल सब्मिट दीयर बिड अन होल प्याकेज बेसिस। पार्सियल सब्मिशन इज नट अलाउड’ ( टेन्डर प्रस्ताव गर्नेले प्याकेजमा प्रस्ताव गर्नु पर्ने, प्याकेज बाहिरको प्रस्ताव आए मान्य नहुने) प्रस्ट उल्लेख छ।

नगरपालिकाले अस्पतालका लागि टेन्डर गरेको १६ किसिमका सामग्रीमध्ये ‘पेसेन्ट मनिटर अप्ग्रेटेबल टु ११ प्यारामिटर्स’ एक सेट, ‘पेसेन्ट मनिटर ५ प्यारामिटर्स’ ६ सेट, ‘सेन्ट्रलाइज म्यानिफोल्ड रुम एन्ड मेडिकल ग्यास पाइपलाइन’ एक सेट छन्। 

त्यसैगरी ‘ट्रली (इन्स्ट्रुमेन्ट)’ एक पिस, ‘क्र्यास चार्ट ट्रली’ एक पिस, ‘अपरेटिङ थिएटर इलेक्ट्रिक टेबल फर जेनेरल सर्जरी’ एक पिस, ‘सेमी–फोलर बेड’ ६ पिस, ‘सेमी–फोलर बेड म्यानुअल्स्’ ६ पिस, ‘बेड साइड लक्कर’ ६ पिस छन्।

‘पेसेन्ट ट्रान्सफर ट्रली’ दुई पिस, ‘डिफिब्रिलेटर’ एक पिस, ‘३०० डब्लु इलेक्ट्रो–सर्जिकल युनिट ह्याभिङ् मोनोपोलार एन्ड बाइपोलार इनर्जी’ एक सेट, ‘ओटी लाइट’ एक सेट, ‘इन्डोस्कोप कम्प्लेट सेट’ एक सेट, ‘मोडुलर ओटी’ ‘कलर डप्लर युएसजी (मेसिन)’ एक सेट किन्न नगरपालिकाले प्याकेज बनाएको छ। यसमै सबैभन्दा ठूलो बदनियत लुकेको देखियो।

इन्डोस्कोपी, डिफिब्रिलेटर’ र युएसजीका मापदण्ड लक्ड

नगरपालिकाले मुख्य १६ सामग्रीको प्याकेज बनाएर अगाडि बढाएको खरिद प्रक्रियामध्ये इन्डोस्कोपी, डिफिब्रिलेटर’ र युएसजीको खरिद मापदण्डमा प्रस्ट लक्ड गरिएको छ। इन्डोस्कोपी ओटीसेटमा आवश्यक पर्ने भन्दा उपकरण हैन। तर यसलाई प्याकेजमा राखियो र मेसिन उत्पादक कम्पनी ‘अहुव’को उत्पादन भएको उपकरणसँग मात्र मिल्नेगरि स्पेसिफिकेशनमा मापदण्डहरू राखियो।

इन्डोस्कोपिको प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘२’ को ‘भिडियो प्रोसेसर’ र ‘लाइट सोर्स’का विभिन्न प्रावधान सिधै अहुवको उत्पादनसँग मात्र मिलाउने बदनियतले राखिएको छ।

इन्डोस्कोपिको प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘२.४’ मा भएको ‘डाइमेन्सन’ र ‘२.५’ मा भएको ‘वेट’को प्रावधानमा सिधै लक्ड गरिएको छ। यो इन्डोस्कोपिको प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘२.४’ मा ‘डाइमेन्सन (एल × डब्लु × एच) : ५२०८४२०८१९६एमएम’ र बुँदा नम्बर ‘२.५’ मा ‘वेटः १८ केजी’ को हुनुपर्ने उल्लेख छ।

बुँदा नम्बर ‘२.१३’ मा भएको ‘लिड (डब्लु) मोड्यूल १’ र ‘२.१४’ मा भएको ‘लिड (युभी) मोड्यूल २’ अनि ‘२.१५’ मा भएको ‘लिड (जी) मोड्यूल ३’ तथा ‘दी लाइट सोर्स मस्ट बी इन्टेग्रेटेड वीथ दी क्यामेरा कन्ट्रोल युनिट’ जस्ता प्रावधान पनि अहुवले उत्पादन गरेको इन्डोस्कोपीको प्रावधानसँग मात्र मिल्छ।

प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘२.१७’ मा ‘अब्जर्भेशन मोडः ह्वाइट लाइट अब्जर्भेशन मोड र ‘२.१८’ मा अब्जर्भेशन मोडः सीबीआई रेगुलेटर-इन्डिगो’ भन्ने प्रावधान राखिएको छ। यो पनि अहुवकै उत्पादनसँग मात्र मिल्छ। बुँदा नम्बर ‘२.१९’ मा ‘सीबीआई अब्जर्भेशन मोड’ बारे राखिएका प्रावधान पनि लक्ड गरिएको छ।

इन्डोस्कोपिको प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘३.१’ मा ‘भिडियो ग्यास्ट्रोस्कोप सुड ह्याभ बिलो मेन्सन्ड फिचर एन्ड स्पेसिफिकेशन्स्’ उल्लेख छ। बुँदा नम्बर ‘४’ र यस अन्तर्गत भएको ‘४.२’ लगायतका बुँदा समेत लक्ड गरिएको छ।  

इन्डोस्कोपीको ‘सिइ’ वा ‘युएसएफडीए’ मध्ये जुन प्रमाणपत्र मान्यताप्राप्त भए पनि हुने प्रावधान राखिएको छ। इन्डोस्कोपिको प्राविधिक स्पेसिफिकेशनको बुँदा नम्बर ‘६.२’ मा ‘सुड ह्याभ युरोपियन सर्टिफिकेट अर-एण्ड युएसएफडिए सर्टिफिकेट’ लेखिएको छ। यसमा ‘अर’-‘एन्ड’ राखेर झुक्क्याउन खोजेको प्रस्ट देखिन्छ।

त्यतिमात्रै हैन इन्डोस्कोपिको वारेन्टीको समय एक वर्ष मात्रै राखिएको छ। यसको बुँदा नम्बर ‘८.१’ मा,‘कम्प्रिहेन्सिभ वारेन्टी फर वान इयर आफ्टर एसेप्टेन्स’ लेखिएको छ। यसको अर्थ सप्लायर्सले मेसिन हस्तान्तरण भएको एक वर्षसम्म बिग्रिए निःशुल्क बनाइदिने र मेसिनका पार्टपुर्जा बिग्रिए फेरिदिने छ। वारेन्टीको समय जति कम राख्यो उति सप्लायर्स कम्पनीलाई आर्थिक फाइदा हुन्छ।

‘डिफिब्रिलेटर’को प्राविधिक स्पेसिफिकेशन मेसिन उत्पादक कम्पनी ‘जोल मेडिकल कर्पोरेसन’सँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ। यसमा सिइ र युएसएफडिए अनुमोदन भएको हुनुपर्ने र एक वर्षकै वारेन्टीको समय राखिएको छ।

फरक प्रकृतिको विशेषता भएको ‘कलर डप्लर युएसजी (मेसिन)’ लाई पनि एकै प्याकेजमा राखिएको छ। यसमा पनि सिइ र युएसएफडिए अनुमोदन भएको हुनुपर्ने र एक वर्षकै वारेन्टीको समय राखिएको छ।

इलेक्ट्रो–सर्जिकल युनिटमा पनि लक्ड

प्याकेजमा राखिएको ‘३०० डब्लु इलेक्ट्रो-सर्जिकल युनिट ह्याभिङ् मोनोपोलार एन्ड बाइपोलार इनर्जी’को प्राविधिक स्पेसिफिकेशन ‘इर्बे’ मेसिन उत्पादक कम्पनीको ‘भिवो-३००’लाई लक्षित गरी बनाइएको छ।

इलेक्ट्रो-सर्जिकल युनिटको ‘१.१’, ‘४.१’, ‘४.२’ र ‘४.३’ लगायतका प्राविधिक स्पेसिफिकेशनका बुँदाहरू निश्चित मेसिन उत्पादक कम्पनीलाई मात्रै मिल्नेगरी बनाएर लक्ड गरेको प्रस्ट देखियो। यसको बुँदा नम्बर ‘१.१’ मा लेखिएको ‘मोनोपोलार एन्ड बाइपोलार कटिङ अप टु एप्रोक्स.३०० वाट एट एप्रोक्स...र...कगुलेशन एप्रोक्स २०० वाट...मेसिन उत्पादक ‘इर्बे’को क्याटलगसँग हुबहु मिल्छ। इलेक्ट्रो–सर्जिकल युनिट पनि एकै प्याकेजमा हुने उपकरण हैन। इलेक्ट्रो-सर्जिकल युनिटको सिइ र युएसएफडिए अनुमोदन भएको हुनुपर्ने र एक वर्षकै वारेन्टीको मागिएको छ।

पेसेन्ट मनिटर सर्तमै कुनियत

नगरपालिकाले टेन्डर प्रक्रिया अगाडि बढाएको मुख्य १६ किसिमका मेसिन, औजार तथा उपकरण स्वास्थ्य सामग्रीमध्ये ‘पेसेन्ट मनिटर अप्ग्रेटेबल टु ११ प्यारामिटर्स’ र ‘पेसेन्ट मनिटर ५ प्यारामिटर्स’ पनि हो।

‘पेसेन्ट मनिटर’ खरिद गरिसकेपछि ‘११ प्यारामिटर्स’मा अप्ग्रेट गर्न मिल्ने सर्त राखेर खरिद गर्नुको सट्टा अहिले नै ११ प्यारामिटर्सको सर्त राखेर खरिद प्रक्रिया अगाडि नबढाउनुले यसको खरिदमा प्रस्टै बदनियत देखिन्छ। नत्र अपग्रेडको सर्त राखेर मेसिन खरिद भइसकेपछि समेत सप्लायर्सले भनेकै महँगो र मनोमानी मूल्यमा अपग्रे गर्दा थप कमिसनको चलखेल हुने खेल देखिन्छ।

यी दुवै पेसेन्ट मनिटरमा सिइ वा युएसएफडिए अनुमोदन भएको हुनुपर्ने मापदण्ड राखिएको छ। युरोपियन सिइ राख्नुको सट्टा सिइ मात्र राखिएको छ। यी दुवैमा वारेन्टीको समय ‘इन्स्टलेसनपछि एक वर्षको राखिएको छ।

प्याकेजको बदनियत

‘सेन्ट्रलाइज म्यानिफोल्ड रुम एन्ड मेडिकल ग्यास पाइपलाइन’को टेन्डर ‘मोडुलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप’को यो टेन्डरमा प्याकेज गर्नै मिल्दैन। किनकि यो त अस्पताल भित्र अक्सिजन तथा ग्यास लान प्रयोग गरिन्छ। ओटी सेटअपसँग प्रत्यक्ष सम्बन्ध नै नहुने फरक प्रकृतिको ‘सेन्ट्रलाइज म्यानिफोल्ड रुम एन्ड मेडिकल ग्यास पाइपलाइन’लाई प्याकेज बनाएर टेन्डर गर्नुले यसमा प्रस्टै बदनियत देखिन्छ। यसमा पनि सिइ वा युएसएफडिए अनुमोदन भएको हुनुपर्ने र एक वर्षकै वारेन्टीको समय राखिएको छ।

‘ट्रली (इन्स्ट्रुमेन्ट)’ र ‘क्र्यास चार्ट ट्रली’ पनि ओटी सेटअपको टेन्डरमा प्याकेज गर्न जरुरी छैन। बिरामी ल्याउन र लैजान प्रयोग हुने यसको प्रकृति नै फरक हो। ट्रली (इन्स्ट्रुमेन्ट)’को पनि सिइ वा युएसएफडिए अनुमोदन भएको हुनुपर्ने मापदण्ड राखिएको छ। ‘क्र्यास चार्ट ट्रली’मा भने सिइबाट मात्रै अनुमोदन भए पनि हुने मापदण्ड राखिएको छ। यी दुवैमा एक वर्षकै वारेन्टी समय राखिएको छ।

‘अपरेटिङ थिएटर इलेक्ट्रिक टेबल फर जेनेरल सर्जरी’ अप्रेसन थिएटरमा आवश्यक हुन्छ। तर, यसमा पनि सिइ वा युएसएफडिए अनुमोदन भएको हुनुपर्ने र एक वर्षकै वारेन्टीको समय राखिएको छ।

फरक प्रकृतिका ‘सेमी–फोलर बेड’, ‘सेमी–फोलर बेड म्यानुअल्स्’, ‘बेड साइड लक्कर’ र ‘पेसेन्ट ट्रान्सफर ट्रली’ जस्ता फरक प्रकृतिका सामग्रीको प्याकेज त गरिएको  छ नै यी चारै किसिमका सामग्रीमा सिइबाट मात्रै अनुमोदन भए पनि हुने मापदण्ड राखिएको छ। वारेन्टीको समय एक वर्षकै राखिएको छ।

यो टेन्डरमा ‘ओटी लाइट’ सिइ र यूएसएफडिएबाट अनुमोदन हुनुपर्ने मापदण्ड राखिएको छ भने एक वर्षको वारेन्टीको समय राखिएको छ। ‘मोडुलर ओटी’को सिइबाट मात्रै अनुमोदन भए पनि हुने मापदण्ड राखिएको छ भने यसको पनि वारेन्टीको समय कम्तीमा एक वर्ष राखिएको छ।

बदनियतको सर्त नै सर्त राखे बढाइयो खरिद प्रक्रिया

रंगेली नगरपालिकाले अगाडि बढाएको यो टेन्डरमा ‘मोडुलर अप्रेसन थिएटरको हकमा कम्तीमा दस वटा मोडुलर अप्रेसन थिएटर सेटअप गरेको अनुभवको प्रमाणपत्र पेस गरेको हुनुपर्ने’ सर्त राखिएको छ। यसले समेत टेन्डरलाई स्वतन्त्र प्रतिस्पर्धा हुनबाट रोक्ने नियत देखाउँछ।

‘सेट अफ भएको कम्तीमा तीन वर्षसम्म प्राविधिक सपोर्ट गर्नुपर्ने’,  निर्माण सम्पन्न भएको १ वर्ष ६ महिना भित्र अस्पतालको आन्तरिक आम्दानी तथा अस्पताललाई प्राप्त अन्य स्रोतको आधारमा तीन चरणमा भुक्तानी दिइने’ प्रावधान समेत राखिएको छ।  यसले यो खरिद प्रक्रिया खरिद योजना र बजेटको सुनिश्चितता नै नभई अगाडि बढाएको देखिन्छ। यो खरिद प्रक्रियामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरिएको छ।

बायोमेडिकल इन्जिनियरदेखि नगरपालिका प्रमुखसम्मको सेटिङ

रंगेली नगरपालिकाका प्रमुख, उपप्रमुख र रंगेली अस्पतालका प्रमुख, प्रशासन प्रमुख, बायोमेडिकल इन्जिनियरलगायतको मिलेमतोबिना खरिद प्रक्रियामा यो तहको मिलेमतो गर्नु सम्भव देखिन्न। हाल रंगेली नगरपालिकाको प्रमुखमा दिलीप कुमार अग्रवाल छन् भने उपप्रमुखमा भुमा पराजुली छन्। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह छन्।

लक्ड गरिएको स्पेसिफिकेशन बायोमेडिकल इन्जिनियर प्रदीप राज साहले बनाएका हुन्। बायोमेडिकल इन्जिनियर सहमत नभई लक्ड गरिएको प्राविधिक स्पेसिफिकेशन बनाउन सम्भव हुन्न। उनी वीपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर हुन्। उकेरासँग उनले आफूले स्पेसिफिकेशन बनाएको स्वीकार गरे तर प्याकेजिङ नबनाएको र लक्ड समेत नगरेको दाबी गरे।

नगरप्रमुख दिलीप कुमार अग्रवालले यो खरिद प्रक्रियाबारे जानकार रहेको बताए। उनले खरिद प्रक्रियामा कुनै समस्या भए प्रि–बिड मिटिङमा छलफल हुने र संशोधन गर्नुपर्ने आवश्यकता देखिए नगरपालिकाको खरिद टिमले संशोधन गर्न निर्देशन दिने उनले बताए। उपप्रमुखले भने यो विषयमा बुझ्ने प्रतिक्रिया दिइन्।

मिलेमतो भत्काउने उपाय

नगरपालिकाले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति कार्तिक १२ गते बुधवार (अक्टोबर २९) दिउँसो १२ बजेसम्मलाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकिएको छ। यदि नगरपालिकाले चाहेमा प्रिबिड मिटिङपछि टेन्डर कागजातमा लक्ड गरिएका प्रावधान संशोधन गर्दै  टेन्डरलाई स्वतन्त्र प्रतिस्पर्धा हुनसक्ने बनाउन सक्छ।

नगरपालिकाले टेन्डर आह्वान गरेको ‘मोडुलर ओटी सेटअप र पोस्ट अप्रेटिभ वार्ड सेटअप’ सम्बन्धी टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘एनसीबी-रंगेली अस्पताल-१३-०८२-८३’ हो। सो  टेन्डरको कागजातमा, ‘दी प्रक्रुमेन्ट अफ मोड्युलर ओटी एन्ड पोस्ट अप्रेटिभ वार्ड सेटअप फर रंगेली अस्पताल’ लेखिएको छ। 

असोज ३०, २०८२ बिहीबार २२:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।