निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीलाई राष्ट्रपति पौडेलको आग्रह

निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘महायज्ञ’का रूपमा लिएर सफल बनाउने जिम्मा युवा पुस्तालाई दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्री सुशीला कार्कीसहित अन्तरिम सरकारका मन्त्री र ‘जेनजी’ अभियन्तासँगको छलफलमा उनले युवाहरूलाई इतिहास रच्ने अवसरको रूपमा आगामी निर्वाचनमा सक्रिय सहभागी हुन आग्रह गरे।

राष्ट्रपति पौडेलले भने, ‘युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातबाट मुक्त होस् भनेर नै यो चुनाव घोषणा गरिएको हो। त्यसैले यो सामान्य निर्वाचन होइन, राष्ट्रको काँचुली फेर्ने अभियान हो। यसलाई प्रतिष्ठाको विषय बनाएर अघि बढौँ।’ 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले युवाहरूसँगै देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने अपेक्षा व्यक्त गरे। ‘चुनावमार्फत असल र इमानदार मानिसहरू जितून्, भ्रष्ट र बदमासहरूले हारून्। युवाहरू विदेश पलायन हुन बाध्य नहोऊन्,’ उनले भनेका थिए।

राष्ट्रपति पौडेलले आफू कार्यकारी पदमा नभए पनि आन्दोलनकारी युवाप्रति सम्मानका रूपमा सरकार र ‘जेनजी’ प्रतिनिधिलाई एउटै मञ्चमा राखेर छलफल गरेको बताए। उनले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवाहरूले सुरू गरेको आन्दोलन नै संविधानमा उल्लेखित ‘राष्ट्रिय एकता प्रवर्द्धन’ गर्ने राष्ट्रपतिको भूमिकासँग जोडिएको बताउँदै अन्तरिम सरकार त्यसकै उपलब्धि भएको उल्लेख गरे।

उनले युवाहरूको आन्दोलनको भावना प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्नेहरूबाट सावधान रहन पनि चेतावनी दिए।

छलफलमा सहभागी ‘जेनजी’ प्रतिनिधिहरूले आफ्नो आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध भएको स्पष्ट गर्दै संविधान, लोकतन्त्र, संघीयता र समावेशीता विरोधी नभएको दोहोर्याए। उनीहरूले निर्वाचन सफल पार्न आफूहरू प्रतिबद्ध रहेको जनाउँदै आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए। ‘जेनजी’ पक्षबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।

असोज ३०, २०८२ बिहीबार २१:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।