‘सहकारी ठग्नेलाई छाड्न मिल्दैन, कानुनमा समस्या छ भने संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ’

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छन्। प्रधानमन्त्री कार्कीले यो विषयमा छलफल गर्न बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठकको आयोजना गरेकी थिइन्।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी र सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा प्रधानमन्त्री कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्न नहुने स्पष्ट निर्देश दिइन्। ‘ठगेर खानेलाई छाड्न मिल्दैन। कानुनमा समस्या छ भने त्यसलाई संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ, तर ठगेर हिँड्नेहरूलाई नछाडौँ। पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गर्नैपर्छ। अहिले नै गर्नुपर्छ। यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गर्नुपरे पनि पीडितको बचत फिर्ता हुनुपर्ने धारणा राखिन्।
असोज ३०, २०८२ बिहीबार १९:०२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।