विशेष कि नियमित महाधिवेशनको मुद्दामा कांग्रेस नेता विभाजित, शेखर उभिए विशेषको विपक्षमा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ। केही नेताहरूले तत्काल विशेष महाधिवेशन गरेर संगठनलाई दिशा दिनुपर्ने तर्क गरेका छन् भने, अर्का समूहले मंसिरमै नियमित १५औँ महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्।
कांग्रेसभित्र अहिले देखिएको बहसले पार्टीलाई दुई धारमा उभ्याएको छ। एक समूह विशेष महाधिवेशन चाहन्छ, जसले नेतृत्व र नीतिगत प्रश्न तत्काल उठाओस् भन्ने मान्यता राख्छ। अर्को समूह नियमित महाधिवेशनको पक्षमा छ, जसले लोकतान्त्रिक प्रक्रियाबाट सबैलाई समान अवसर दिनुपर्ने तर्क गर्छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सुरु गर्दै विशेष महाधिवेशनका लागि प्राप्त हस्ताक्षरहरूको विवरण प्रस्तुत गरेका थिए। तर उनले विशेष महाधिवेशनका मागकर्ताहरूको मूल भावना पनि नियमित महाधिवेशन छ भन्दै सबै पक्षबीच सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरे।
उनले भने, “मलाइ विश्वास छ, विशेष महाधिवेशनका मागकर्ता साथीहरूको उद्देश्य पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गरिनुपर्छ भन्ने नै हो। त्यसै दिशामा हामी अघि बढिरहेका छौँ।”
बैठकमा बोल्दै संस्थापनइतरका नेता डा. शेखर कोइरालाले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले विशेष महाधिवेशनका लागि भएको हस्ताक्षर अभियानलाई “ऊर्जा संकलनको माध्यम” भने पनि, त्यो बाटोभन्दा नियमित महाधिवेशन नै संस्थागत समाधान हुने तर्क गरे।
उनले भने, “विशेष महाधिवेशनका लागि भएका हस्ताक्षरले कांग्रेसमा उत्साह थपेको छ, तर नेतृत्वमा ताजापन र पार्टीभित्रको सहमति नियमित महाधिवेशनबाट मात्र सम्भव छ।”
कोइरालाले अन्य दलहरू मंसिरमा आफ्नो अधिवेशन गर्न लाग्दा कांग्रेस किन पछि पर्नुपर्ने भन्ने प्रश्न पनि उठाए।
“अन्य राजनीतिक दलहरू मंसिरमा सम्मेलन गर्दै छन्, हामी किन सक्दैनौँ ? कांग्रेसको नयाँ दिशा र सम्भावना मंसिरकै अधिवेशनले दिन सक्छ,” उनले भने ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले विशेष महाधिवेशनले नयाँ पुस्तालाई पछाडि पार्ने खतरा रहेको बताए।
उनले भने,“विशेष महाधिवेशनमा १४औँ महाधिवेशनका प्रतिनिधिहरू मात्रै सहभागी हुने भएकाले नयाँ पुस्ता, विशेष गरी जेनजी पुस्ता प्रतिनिधित्वबाट वञ्चित हुन्छ। यसले पार्टीमा ताजा ऊर्जा भन्दा पनि पुरानो ढाँचा दोहोर्याउँछ।”
बस्नेतले नियमित महाधिवेशनमै जाने हो भने किन र कसरी ढिलो भइरहेको हो भन्ने विषयमा संगठनले स्पष्ट जवाफ दिनुपर्ने माग पनि गरे ।
बैठकमा राजीव कोइराला, प्रकाशशरण महत लगायतका नेताहरूले पनि आ–आफ्ना धारणा राखे । धेरै नेताहरूले अहिले पार्टीभित्र आपसी अविश्वास र निर्णय प्रक्रियामा पारदर्शिताको कमी रहेको उल्लेख गर्दै, पहिले आन्तरिक एकता र अनुशासन बलियो बनाएर मात्र महाधिवेशनमा जानु उचित हुने धारणा राखे।
जेनजी आन्दोलनको प्रसङ्गले बैठक तात्यो
बैठकमा जेनजी आन्दोलनका क्रममा भएको हिंसा, मृत्युप्रति श्रद्धाञ्जली र राज्यको बल प्रयोगबारे पनि छलफल भयो। कोइरालाले आन्दोलनमा मारेका युवाहरू र घाइतेप्रति सहानुभूति प्रकट गर्दै भने,“राज्यबाट अत्यधिक बल प्रयोगका कारण देशले होनहार युवाहरू गुमायो। दोषीमाथि कारबाही गर्नुपर्छ, तर तोडफोड र आगजनी पनि स्वीकार्य होइन।”
उनले आन्दोलनमा भएका हिंसात्मक घटनाको निन्दा गर्दै समाजमा शान्त वातावरण बनाएर मात्र निर्वाचन सम्भव हुने बताए।
कांग्रेसको केन्द्रीय समिति बैठक आज स्थगित भई भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ। भोलिको बैठकमा महाधिवेशनको मिति, स्वरूप र कार्यतालिकाबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।
असोज ३०, २०८२ बिहीबार १७:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।