‘मैझारो’ रिलिजको सँघारमा पुग्दापनि प्रचारमा देखिएनन् धिरज र मिरुना, ‘तक्मे’ तनावमा

‘मैझारो’ रिलिजको सँघारमा पुग्दापनि प्रचारमा देखिएनन् धिरज र मिरुना, ‘तक्मे’ तनावमा

काठमाडौं : एउटा कलाकारले आफैं लगानी गरेर फिल्म निर्देशन गर्नु सजिलो कुरा होइन। यस्तो जिम्मेवारीमा तनाब र चुनौती त अवश्य हुन्छ। त्यसमा पनि फिल्म रिलिज नजिकिँदै गर्दा मुख्य कलाकारहरू प्रचार-प्रसारमा नदेखिँदा निर्माण पक्षलाई पर्ने दबाब कति होला ?

यस्तै तनाबमा छन् मैझारोका निर्देशक, निर्माता तथा अभिनेता विल्सन बिक्रम राई (तक्मेबुढा)। फिल्म रिलिज हुन एक हप्ता बाँकी रहँदा उनका मुख्य कलाकार धिरज मगर र मिरुना मगर दुवै बेपत्ता छन्। मिडियामा न त उनीहरूको उपस्थिति छ, न त कुनै सार्वजनिक गतिविधि।

मिरुना अहिले कबड्डी ५ को छायांकनका लागि मुस्ताङ पुगेकी छिन् भने धिरज मगरको पनि अत्तोपत्तो छैन। यही कारण हाल फिल्मको प्रचारमा निर्देशक राई स्वयं मिडियामा उपस्थित भइरहेका छन्।

विल्सनका लागि यो परिस्थिति सजिलो छैन। एक दशकअघिको समय जस्तो भए उनले गाउँ-शहर घुम्दै, माइकिङ र पोस्टर टाँस्दै प्रचार गर्न सक्थे। तर अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल र मिडियामार्फत प्रचार गर्नुपर्ने भएकोले मुख्य कलाकारको अनुपस्थिति झनै चुनौतीपूर्ण बनेको छ।

ठ्याक्कै फिल्म रिलिजको बेला कबड्डी ५ को सुटिङ नथालिएको भए, या रामबाबु गुरुङले विल्सनलाई जानकारी दिएको भए परिस्थिति फरक हुन सक्थ्यो। उनीहरूबीच कुनै मनमुटाव थियो कि भन्ने प्रश्न पनि उठेको छ।

जे भए पनि, मिरुना र धिरजले फिल्मको अन्तिम प्रचार चरणमै अनुपस्थित हुँदा निर्देशक विल्सन निराश हुनु स्वाभाविक नै हो। रिलिजको सघाउने बेला टिमका मुख्य अनुहार नै हराउँदा ‘तक्मेलाई धोका त होइन?’ भन्ने प्रश्न उठ्नु पनि अस्वाभाविक होइन।

असोज ३०, २०८२ बिहीबार १७:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।