जेनजी आन्दोलन : प्रहरी सहायक हवल्दार गुरुङको हत्या अभियोगमा दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : जेनजी आन्दोलनका क्रममा भदौं २४ गते काटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुईजनामाथि अहिले अनुसन्धान जारी छ। ‘हामीले उनीहरूलाई नियन्त्रणमा लिएको १५-२० दिनजति भइसकेको छ,’ भट्टराईले बताए, ‘हाल उनीहरूलाई थुनामा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।’
भदौं २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले काटेश्वरस्थित प्रहरी प्रभागमा तोडफोड र आगजनी गरेपछि सुरक्षाकर्मीहरू भाग्न बाध्य भएका थिए। भाग्ने क्रममा सहायक हवल्दार अमृत गुरुङमाथि भीडले खुकुरी र चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
कोटेश्वर प्रहरी स्रोतका अनुसार दिउँसो करिब १ बजे प्रभागलाई घेरेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। एक प्रहरी अधिकारीले भने, ‘हामी आफ्नो ज्यान बचाउन पछाडिबाट भाग्यौं। प्रभागबाट करिब दुई घर टाढा पुग्दा गुरुङमाथि आक्रमण भयो।’
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाउँदै अन्य संलग्न व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।
असोज ३०, २०८२ बिहीबार १६:३७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।