पारिश्रमिक पाएपछि मख्ख देखिए अनमोल, फिल्म चलेपछि जेरी पार्टी गर्ने

काठमाडौं : आफूले अभिनय गरेको फिल्म चलेर राम्रो कमाइ होस् भन्ने चाहना सबै कलाकारको हुन्छ। तर अभिनेता अनमोल केसीका लागि मुख्य कुरा भनेको पारिश्रमिक प्राप्ति हो। हालै ५० लाख पारिश्रमिक पाएका उनी निकै उत्साहित देखिएका छन्। गत वर्ष फिल्म फर्की फर्कीले राम्रो व्यापार गर्न नसक्दा भने उनी केही निराश देखिन्थे।
तर, यसपटक भने उनी नयाँ फिल्म ‘जेरी अन टप’ को सफलताबारे आशावादी छन्। बुधबार बालुवाटारस्थित एक बैंक्वेटमा निर्माण टिमले पत्रकार सम्मेलन गरेको थियो। उक्त कार्यक्रममा अनमोलसँगै अभिनेत्री जसिता गुरुङ र आँचल शर्माको पनि उपस्थिति थियो।
दिउँसो ३ बजेबाट पत्रकारसँग भेट्ने भनिए पनि अनमोल करिब एक घण्टा १४ मिनेट ढिला अर्थात् ४ बजेर १४ मिनेटमा हलमा पुगे। उनले ढिलो भएकोमा माफी समेत मागेनन्। पत्रकारहरूले फिल्मको नामसँग जोडेर सोधे, ‘तपाईंले जेरी नखाएको कति भयो?
जवाफमा अनमोलले हाँस्दै भने, ‘साँचो भनौँ न, जेरी नखाएको धेरै भयो। मलाई मिठाइ, चकलेट, जेरी-स्वारीको कम्बो एकदमै मन पर्छ। सायद, यो फ्राइडे हाम्रो राम्रो ओपनिङ भयो भने सबैसँगै जेरी खान जाउँला नि!’
उनले फिल्मले राम्रो व्यापार गरे मिडियाकर्मीलाई जेरी खुवाउने मुडमा रहेको बताए। यसअघि गीत तथा ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नसकेका उनी बिरामी भएकाले घरमै आराममा थिए।
अब भने अनमोल आफ्नो नयाँ फिल्मले राम्रो व्यापार गर्ने अपेक्षामा छन्। उनको आशा र भरोसा कति पूरा हुन्छ भन्ने कुरा केही दिनमै थाहा हुनेछ।
असोज ३०, २०८२ बिहीबार १६:१४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।