नियतबस खराब काम गर्दिनँ बरु जस्तो गएको त्यस्तै फर्किने छु : मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले जानाजानी वा नियतबस कुनै खराब काम नगर्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित ‘श्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोह’मा बोल्दै उनले मन्त्री पदमा रहँदा इमानदार रूपमा जिम्मेवारी वहन गरेको बताए।
मन्त्री खरेलले भने, ‘म जानाजानी, बुझेर, नियतबस कुनै खराब काम गर्नेछैन। बरु जस्तो आएको थिएँ, त्यस्तै फर्किन तयार छु।’ उनले थपे, ‘कति काम गरिस्, कति गर्न सकिनस्- यसको हिसाब किताब समयले गर्छ। तर बिगारेर दाग लागेको निधार लिएर जानु पर्ने अवस्था आउन दिन्न।’
मन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित भएका हुन्। त्यस क्रममा मन्त्री खरेलले कार्यक्रममा उपस्थित श्रष्टाहरूप्रति आभार व्यक्त गर्दै आफू उमेर, अनुभव र विचारका हिसाबले नयाँ भए पनि उनीहरूले देखाएको बाटोमा हिँड्न तयार रहेको उल्लेख गरे।
‘श्रष्टाहरूको सक्रियता र सिर्जनशीलताले सधैं ऊर्जा दिन्छ,’ उनले भने, ‘हामी तपाईंहरूभन्दा उमेर र अनुभवमा नयाँ छौं, सिक्दै छौं। साहित्य, कला र संस्कृतिको जगेर्नाका लागि तपाईंहरूले खोलिदिनुभएको बाटोमा सधैं हिँड्न प्रयासरत रहनेछौं।’
असोज ३०, २०८२ बिहीबार १५:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।