प्रदेश सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाखभन्दा बढी बिगो दाबी

प्रदेश सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाखभन्दा बढी बिगो दाबी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महोत्तरी क्षेत्र नं ४ ‘ख’ बाट निर्वाचित सांसद तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका सिंहमाथि विभिन्न उपभोक्ता समितिमार्फत सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ।

आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो दाबी गरेको छ। उनले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको खातामा जम्मा भएको रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

मुद्दामा विभिन्न उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षहरूलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले अन्य प्रतिवादीहरूबाट निम्नअनुसार बिगो मागदाबी गरेको छ:

भुपेन्द्रकुमार झा (अध्यक्ष): रधवा पिपलदेखि लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिबाट १८ लाख ९१ हजार ९०० रुपैयाँ।
मञ्जु देवी पासवान (कोषाध्यक्ष): दुईवटा सडक निर्माण उपभोक्ता समितिबाट संयुक्त रूपमा २१ लाख ९३ हजार ८१५ रुपैयाँ।
योगिन्दर महतो (अध्यक्ष) र सुनयना कुमारी (कोषाध्यक्ष): धर्मशाला एवं सडक निर्माण समितिबाट ६ लाख ५७ हजार ७०० रुपैयाँ।
शम्भुकुमार मण्डल (अध्यक्ष): सडक स्तरोन्नति निर्माण समितिबाट ३ लाख १ हजार ९१५ रुपैयाँ।

त्यसैगरी, विभिन्न मन्दिर सौन्दर्यीकरण र निर्माणसँग सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षहरू रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत र भिखारी राउत कुर्मीविरुद्ध पनि १ लाख ५० हजारदेखि करिब ३ लाख रुपैयाँसम्म छुट्टाछुट्टै बिगो दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

असोज ३०, २०८२ बिहीबार १३:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।