निर्देशक रामकाजी घिमिरेको हिजोको कुरा : बुबा प्रधानपञ्च भएर के गर्नू, चामलको भात खान पाहुनै कुर्न परेपछि

२०२६ सालमा काभ्रेपलाञ्चोकको ढुङ्खर्कमा रामकाजी घिमिरे जन्मँदा देशमा पञ्चायती व्यवस्था थियो र उनका बुबा गाउँका प्रधानपञ्च थिए। दुई आमाका ७ दाजुभाइ र ३ दिदीबहिनीको ठूलो परिवारमा उनी कान्छी आमापट्टिका छोराहरूको लहरमा साइँलो थिए।
प्रधानपञ्चको छोरा हुनुको एउटा छुट्टै परिचय थियो- गाउँलेले उनलाई स्नेह र सम्मान मिश्रित भावमा ‘सानो प्रधानपञ्च’ भनेर बोलाउँथे। तर, यो परिचय र उनको यथार्थ जीवनबीच ठूलो खाडल थियो। पदको ओज थियो, तर त्यसले न घरमा आर्थिक सम्पन्नता ल्याएको थियो, न त सबैले पढ्नैपर्छ भन्ने आधुनिक चेतना।
उनको घरमा चामलको भात पाक्नु एउटा उत्सवजस्तै हुन्थ्यो, जसका लागि कि श्राद्ध आउनुपर्थ्यो, कि कुनै विशेष पाहुना। नियम-कानुनमा कडा देखिए पनि उनका बुबाले पदीय शक्तिको दुरुपयोग गरेर गाउँलेलाई कहिल्यै हेपेनन्।
जीवनका अनेक घुम्तीहरू पार गर्दै काठमाडौं पसेपछि न्युरोडको एक व्यापारीको पसलमा काम गर्दा उनको भेट निर्देशक सुवास गजुरेलसँग भयो। यही भेट उनको जीवनको निर्णायक मोड बन्यो, जसले उनलाई नाटक, टेलिफिल्म हुँदै सिने जगतको अनन्त यात्रामा डोऱ्यायो।
उनले आफ्नो जीवनमा भोगेका, देखेका र अनुभव गरेका कुरा उकेराको ‘हिजोको कुरा’ स्तम्भमा यसरी सुनाए:
काभ्रेको दुर्गम गाउँ र गाडीको सपना
मेरो घर काभ्रेपलाञ्चोक, ढुङ्खर्क, साविकको वडा नम्बर ६ र अहिलेको बेथानचोक गाउँपालिका वडा नम्बर २ मा पर्छ। पञ्चायतकालमा यसलाई ढुङ्खर्क गाउँ पञ्चायत भनिन्थ्यो। काठमाडौं निकै नजिक भए तापनि हाम्रो गाउँ विकासको हिसाबले दुर्गम थियो। त्यहाँका मानिसले गाडी चढ्न २०३२ सालसम्मै कुर्नुपर्यो।
मैले थाहा पाउँदा गाउँमा गाडी चल्न थालिसकेका थिए, तर मैले पहिलो पटक गाडी देखेको २०३५ सालमा हो, जुन दृश्य अहिले पनि मेरो मनमा ताजै छ। हाम्रो गाउँसम्म बाटोको ट्र्याक खोल्न भने २०५२ साल लाग्यो। मेरा बुबा तत्कालीन प्रधानपञ्च भएकाले उहाँकै पहलमा त्यो बाटोको कल्पना गरिएको थियो। बुबा २०३६ सालतिर मुखियाको सहायक हुनुहुन्थ्यो भने २०४४ सालको पञ्चायत चुनावमा पराजित हुनुभयो।
खरिपाटीबाट शुरू भएको शिक्षा यात्रा
मैले थाहा पाउँदा अहिलेको जस्तो मावि वा उच्च मावि तहका स्कुल गाउँमा बनेका थिएनन्। मेरो गाउँको श्री पार्वती मावि त्यतिबेला ७ कक्षासम्मको मात्रै थियो। जनहित र बेथानचोकजस्ता स्कुलहरूमा चाहिँ ३ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। बेथानचोक स्कुलमा त बुबाले पनि पढाउनुहुन्थ्यो।
मैले ८ देखि १० सम्मको पढाइ खोपासीको श्रीराम माविबाट पूरा गरेँ र २०४३ सालमा एसएलसी दिएर ४४ सालमा पास भएँ। त्यो समयमा स्कुलमा विद्यार्थी निकै हुन्थे, सायद छोराछोरी पढाउनुपर्छ भन्ने चेतना अभिभावकमा खुलेको थियो। तर, कक्षामा केटा र केटीको अनुपातमा ठूलो अन्तर थियो। केटाहरू ८० जना हुँदा केटीहरू मुस्किलले २० जना हुन्थे।
‘सानो प्रधानपञ्च’को आर्थिक सङ्घर्ष
मान्छेहरूले सोचेजस्तो प्रधानपञ्च हुँदैमा सबै कुरा पुग्छ, हुन्छ भन्नु केवल भ्रम थियो। बुबा प्रधानपञ्च भए तापनि पदबाट कुनै आम्दानी हुँदैनथ्यो। बाउबाजेको १२-१५ रोपनी पाखोबारी थियो, खेत थिएन। हामीलाई एउटा पेन्सिल किन्न पनि मुस्किल थियो; एउटै पेन्सिललाई आधा भाँचेर लेख्नुपर्ने बाध्यता थियो। २ कक्षा पुगेपछि मात्र कापी-कलममा लेख्न पाइन्थ्यो, त्यसअघि त खरिपाटीमै अक्षर चिनिन्थ्यो।
अहिलेको जस्तो जुत्ता-चप्पलको कल्पनै गर्न सकिँदैनथ्यो, खाली खुट्टा नै स्कुल जाने हो। दशैंमा बुबाले किनिदिएको एक जोर लुगाले अर्को दशैंसम्म टिकाउनुपर्थ्यो। बीचमा फाट्यो भने टालटुल पारेर लगाउनुको विकल्प थिएन, प्रधानपञ्चको छोरा भए पनि।
त्यो समयको एउटा उखानै थियो नि, ‘पढ्यो गुन्यो के काम, हलो जोती खायो माम’। त्यतिबेलाको समाजको मानसिकता यही थियो। अक्षर चिन्नुपर्छ भन्ने अनिवार्य थियो, तर पढेर जागिरै खानुपर्छ भन्ने सोच कसैमा थिएन। जागिर खाए अरूको अधीनमा हिँड्नुपर्छ भन्ने मान्यता थियो। मेरो बुबाको मानसिकता पनि यस्तै हुनुको पछाडि एउटा पारिवारिक त्रासदी थियो।
चन्द्रशमशेरको पालामा मेरा हजुरबुबालाई ‘गल्ला’ (आर्मी-पुलिसमा भर्ती गराउने) ले उठाएर लगेछ। पछि २८ वर्षको कलिलो उमेरमै तत्कालीन सदरमुकाम चरिकोटबाट फर्किँदा औलो लागेर उहाँ बित्नुभएछ। यही कारणले बुबा हामीलाई जागिर खानभन्दा पनि अक्षर चिनेर खेतीपातीमा लाग्न प्रेरित गर्नुहुन्थ्यो।
ढिँडो खाने धनी, भात खाने गरिब
त्यो बेलाको हाम्रो समाजमा एउटा अनौठो मान्यता थियो। मानिसहरू भन्छन् नि, ‘धनीले चामलको भात खान्छन्, गरिबले ढिँडो’, तर हाम्रोमा ठ्याक्कै उल्टो थियो।
हामी आफ्नै बारीको मकै-कोदोको ढिँडो खान्थ्यौं, बेसाउनु (किन्नु) पर्दैनथ्यो। जसको आफ्नो उब्जनी छैन, उनीहरूले किनेर खान्थे र उनीहरूलाई गरिब मानिन्थ्यो। उनीहरूले नै उसिना चामलको भात खान्थे। हाम्रो घरमा त चामलको भात पाक्न कि पाहुना आउनुपर्थ्यो, कि श्राद्ध वा दशैं-तिहार नै कुर्नुपर्थ्यो।
‘पाखुरे डाँडा’ र पञ्चायतकालीन न्याय
त्यो बेलाको शासन प्रणाली तहगत थियो-अञ्चलाधीशको कुरा सिडियोले, सिडियोको कुरा प्रधानपञ्चले र प्रधानपञ्चको कुरा स्थानीयले मान्नुपर्थ्यो। गाउँका मुद्दामामिला गाउँमै मिलाउनुपर्ने भएकाले प्रधानपञ्चहरू केही कडा स्वभावका हुन्थे।
त्यतिबेला निवेदन लेख्ने चलन पनि थियो। एक रुपैयाँमा निवेदन लेख्दा २५ पैसा लेखकले, २५ पैसा प्रधानपञ्चको आन्तरिक खर्चका लागि र बाँकी राजस्वमा जान्थ्यो। मैले निवेदन लेखेर ५ पैसादेखि २५ पैसासम्म कमाएको छु।
त्यतिबेला मानिसमा दण्ड-सजायको ठूलो डर थियो। हाम्रो गाउँको ‘पाखुरे डाँडा’को कथा यसको ज्वलन्त उदाहरण हो। म जन्मनुभन्दा केही वर्षअघि कसैले त्यहाँको एउटा राम्रो रुख काटेछ। जिल्लाबाट आदेश आयो, ‘जसले रुख काट्यो, त्यहीँ ठाउँमा उसको हात काटिदिनू।’
आदेशअनुसार रुख काट्नेको पाखुरै काटिदिएछन्। त्यसपछि त्यो डाँडाको नामै ‘पाखुरे डाँडा’ रहन गयो। त्यतिबेला कानुन यति कडा थियो, त्यसैले मान्छेहरू नियम मिच्न डराउँथे।
काठमाडौंको बसाइदेखि कलाकारिताको यात्रासम्म
बुबा प्रधानपञ्च भएकाले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो। उहाँले टेबहालमा २०-२२ रुपैयाँ भाडा तिरेर एउटा कोठा लिनुभएको थियो।
म पनि दरबार हाइस्कुलमा पढ्न भनेर काठमाडौं आएँ र न्युरोडको ‘उषा कल साइनिङ’ भन्ने पसलमा काम गर्न थालेँ। पसलका साहुले मलाई दरबार हाइस्कुलमा भर्ना पनि गरिदिनुभयो। तर, ६ महिनाभन्दा बढी टिक्न सकिनँ। २०३९ सालमा आमा बितेपछि म गाउँ फर्किएँ।
गाउँमै एसएलसी पास गरेपछि फेरि काठमाडौं आएर आर्मीमा भर्ती हुन गएँ, तर फालिएँ। त्यसपछि तिनै साहुको ब्यान्डेज फ्याक्ट्रीमा मार्केटिङको काम गर्न थालेँ। सामान पुर्याउने सिलसिलामा नेपालका धेरै ठाउँ घुम्ने मौका पाएँ र यो काम २०५८ सालसम्म गरेँ।
मार्केटिङको कामसँगै मैले पाटन क्याम्पसमा भर्ना गरेँ। २०४५ सालतिर एकेडेमीमा कला प्रशिक्षणको भर्ना खुलेको रहेछ। म पनि अभिनय सिक्न जाँदा एक दिन ढिला भइसकेको रहेछु।
निराश भएर बागबजारमा आउँदै गर्दा कमेडियन रवि डङ्गोललाई भेटेँ। उनको र मेरो सोच मिलेपछि हामी एकैदिन सुवास गजुरेल र रुबीराज उपाध्यायले खोलेको ‘प्रतिभा कला मन्दिर’मा आबद्ध भयौँ।
सुवास सरले अभिनय प्रशिक्षण दिनुहुन्थ्यो। यहीँबाट मेरो कलाकारिताको यात्रा सुरु भयो। मैले थुप्रै नाटकहरूमा काम गरेँ- म आफैँ लेख्ने, निर्देशन गर्ने र अभिनय पनि गर्थेँ। विशेषगरी सडक नाटकमार्फत चेतनामूलक सन्देश दिने काममा म आज पनि उत्तिकै सक्रिय छु।
असोज ३०, २०८२ बिहीबार १३:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।