‘जेन-जी’ आन्दोलनमा प्रहरी हत्या र कार्यालय तोडफोडमा संलग्नमाथि मुद्दा, धमाधम पक्राउ पर्दै उपद्रवीहरू

‘जेन-जी’ आन्दोलनमा प्रहरी हत्या र कार्यालय तोडफोडमा संलग्नमाथि मुद्दा, धमाधम पक्राउ पर्दै उपद्रवीहरू
हतियार लुटेर प्रहरीको पोशाक दुरुपयोग गर्नेहरू।

काठमाडौं : ‘जेन-जी’ आन्दोलनको दोस्रो दिन भदौ २४ मा भएको प्रहरी हत्या र प्रहरी कार्यालय तोडफोडमा संलग्न समूहविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरी वृत्त, चक्रपथमा प्रहरीको हत्यामा संलग्न दुई जना र उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय तोडफोडमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

‘जेन-जी’ आन्दोलनको दोस्रो दिन चक्रपथस्थित प्रहरी वृत्तमा आक्रमण र आगजनीका क्रममा प्रदर्शनकारीको कुटपिटबाट एक प्रहरीको ज्यान गएको थियो।

प्रहरीले जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा युवराज क्याप्छाकी र बुद्धिमान थिङलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यानको अभियोगमा जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता गरिएको छ।

दार्चुलाका थापा प्रहरी जवानका रूपमा महाराजगञ्ज वृत्तमा कार्यरत थिए। आन्दोलनको दिन प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले उनलाई कार्यालयबाट लखेटेर बाहिर निकाली टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरिनु उल्लेख छ।

सादा पोसाकमा रहेका थापालाई प्रदर्शनकारीहरूले ढुंगा र रडले हानेपछि घिसार्दै सडकको बीचमा ल्याएर छाडेका थिए।

दुवैले बयानका क्रममा घटनामा संलग्न रहेको स्वीकार गरेका छन्। उनीहरूले ‘जेन-जी’ आन्दोलनको पहिलो दिन प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर मारिएको सुनेपछि आक्रोश बढेको र सोही दिन महाराजगञ्जमा पुग्दा प्रहरी कार्यालयमा तोडफोड भइरहेको देखेर आफूहरू पनि त्यसमै मिसिई प्रहरीमाथि आक्रमण गरेको बयान दिएको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले प्रहरी जवान थापालाई प्रहरी कार्यालयदेखि लखेट्दै मिल्सबेरी नजिक पुर्याएपछि भाटभटेनीको पर्खालमा राखेर कुटपिट गरेको देखिन्छ। कुटपिटबाट उनी बेहोस भएपछि उनलाई घिसार्दै सडकमा ल्याएर छाडिएको थियो।

प्रहरीले सो दिन उनीहरू कहाँ-कहाँ थिए भन्ने मोबाइल लोकेसन विवरणसमेत निकालेको छ। घटनाको दिन युवराज बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म विशालनगर, कुमारीमार्ग, धुम्बाराही र नारायणगोपाल चोकमा देखिएका छन्। बुद्धिमान दिउँसो २ बजेदेखि राति साढे ८ बजेसम्म धापासी हाइटमा देखिएका छन्।

उनीहरूमाथि लागेको अभियोग पुष्टि भएमा जन्मकैदसम्मको सजाय हुन सक्छ।

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेको अभियोगमा भारतीय नागरिक निरज पोदारसहित नेपाली नागरिक लक्ष्मण थारु र सजन तामाङविरुद्ध आपराधिक उपद्रवमा बुधबार मुद्दा दर्ता भएको छ।

‘जेन-जी’ आन्दोलनको दोस्रो दिन टेकुमा रहेको प्रहरी कार्यालयमा प्रवेश गरेको समूहले कार्यालय हाताभित्र रहेका सवारीसाधनमा तोडफोड र आगजनी गरेपछि प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी गर्दै त्यहाँ रहेका प्रहरीका हतियार लिएर भागेका थिए।

आन्दोलनको दिन एक समूहले प्रहरी कार्यालयमा आगो लगाएर सबै आपराधिक रेकर्ड जलाउनुका साथै त्यहाँ रहेका सवारीसाधनमा आगजनी गरेका थिए।

उक्त समूहले प्रहरी कार्यालयमा रहेको २२ बोरको हतियार र विभिन्न हतियारका गोली तथा म्यागजिनहरू लुटेर लगेको थियो। कार्यालय जलाउन संलग्नहरूबारे सीसीटीभीमा रेकर्ड भएको भिडियोको आधारमा खोजी गर्दा दुई जनाको पहिचान भएर पक्राउ परेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूमाथि लागेको अभियोग अदालतबाट पुष्टि भएमा जन्मकैदसम्मको सजाय हुन सक्छ।

उपद्रोमा संलग्नहरू धमाधम पक्राउ पर्दै
‘जेन-जी’ आन्दोलनको दोस्रो दिन संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका मन्त्रालय र सरकारी तथा प्रहरी कार्यालयमाथि आक्रमण र आगजनी भएको थियो। निजी सम्पत्तितर्फ भाटभटेनी र हिल्टन होटलमा समेत प्रदर्शनकारीहरूले आगो लगाइदिएका थिए।

प्रहरीले आन्दोलनको दोस्रो दिन भएको घटनामा संलग्नहरूको अनुसन्धान गरेर पहिचान खुलेकाहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि गृह मन्त्रालयले नै पक्राउ नगर्न दबाब दिएपछि पक्राउ परेका अधिकांश हाजिर जमानीमा छुटेका थिए।

पछिल्लो समय भने प्रहरीले पुनः पक्राउ अभियान सुरु गरेको छ। प्रहरीले बुधबार मात्रै ‘जेन-जी’ अभियन्ता बन्दै आयोग र सरकारी कार्यालयमा गएर धम्क्याउन संलग्न अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको थियो। उनीविरुद्ध बैंकिङ कसुरका मुद्दाहरू समेत रहेको खुलेको छ।

सर्वोच्च अदालतको सुरक्षामा खटिएको प्रहरीको एसएलआर लुटेर सडकमा प्रदर्शन गर्दै हिँडेका राजु परियार पनि बुधबार पक्राउ परेका छन्। प्रहरीले उनीमाथि आपराधिक उपद्रवमा म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ। उनी पनि ज्यान मार्ने प्रयासदेखिका ८ वटा अपराधका अभियुक्त रहेको खुलेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भएको आगजनी र तोडफोडका क्रममा त्यहाँ रहेको बुद्धको मूर्ति चोर्न संलग्न देखिएका विजय लामा पनि बुधबारै पक्राउ परेका छन्।

असोज ३०, २०८२ बिहीबार ११:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।