भेनेजुएलामा अपरेशनका लागि सीआईएलाई ट्रम्पको स्वीकृति, दक्षिण अमेरिकी देशहरूद्वारा कडा आपत्ति

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी गुप्तचर एजेन्सी सीआईएलाई अपरेशन चलाउन स्वीकृति दिएको बताएका छन्। उनको यस निर्णयप्रति दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्।
पछिल्ला केही हप्तामा अमेरिकी सेनाले क्यारिबियन सागरमा लागूऔषध तस्करीको आशंकामा कैयौं जहाजमाथि कम्तीमा पाँच पटक आक्रमण गरेको छ, जसमा २७ जनाको ज्यान गएको छ।
संयुक्त राष्ट्रका मानवअधिकार विज्ञहरूले यी कारबाहीहरूलाई ‘गैरकानुनी हत्या’ भनेका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकाले लागूऔषध तस्करी गर्ने गिरोहहरूमाथि थप कारबाहीको तयारी गरिरहेको पनि बताए।
उता, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले टेलिभिजनमा बोल्दै अमेरिकासँग शान्तिको अपिल गरेका छन्। न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, ट्रम्पको स्वीकृतिपछि सीआईएले भेनेजुएलामा एक्लै वा कुनै ठूलो अमेरिकी सैन्य कारबाहीको हिस्साको रूपमा अभियान चलाउन सक्नेछ।
यद्यपि, सीआईएले हाल भेनेजुएलामा कुनै अपरेशनको तयारी गरिरहेको छ वा छैन भन्नेबारे कुनै जानकारी छैन, तर यस जासुसी एजेन्सीको दक्षिण अमेरिकामा हस्तक्षेपको लामो इतिहास छ।
बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेल र महान्यायाधिवक्ता पाम बोन्डीसँगै पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पलाई न्यूयोर्क टाइम्सको रिपोर्टबारे प्रश्न सोधिएको थियो।
एक पत्रकारले सोधे, ‘तपाईंले सीआईएलाई भेनेजुएला जान स्वीकृति किन दिनुभयो?’
जवाफमा ट्रम्पले भने, ‘मैले दुई कारणले स्वीकृति दिएको हुँ। पहिलो, भेनेजुएलाले आफ्ना जेलका कैदीहरूलाई अमेरिकामा छोडिदिएका छन्। र दोस्रो कुरा लागूऔषध हो। भेनेजुएलाबाट धेरै लागूऔषध आउँछ, यो प्रायः समुद्री बाटोबाट आउँछ, तर हामी उनीहरूलाई जमिनको बाटोमा पनि रोक्न गइरहेका छौँ।’
असोज ३०, २०८२ बिहीबार ११:१८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।