सञ्चारविहीन मौरिस हर्जोग पदमार्ग : पर्यटकको सुरक्षामाथि प्रश्न, बसोबासमा सास्ती

सञ्चारविहीन मौरिस हर्जोग पदमार्ग : पर्यटकको सुरक्षामाथि प्रश्न, बसोबासमा सास्ती

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको विश्वको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाने ‘मौरिस हर्जोग पदमार्ग’मा सञ्चार सुविधा नहुँदा पर्यटकहरूले सास्ती भोग्नुपरेको छ।

पदमार्ग र होटल सुविधामा सुधार भएपछि पर्यटकको घुइँचो लागे पनि सञ्चार सम्पर्कविहीन हुँदा उनीहरूलाई बसोबास मिलाउन र सुरक्षामा समेत चुनौती थपिएको छ।

असोजको सुरूदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक यस पदमार्गमा आइरहेका छन्। तर, पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोन र इन्टरनेटको पहुँच छैन, जसकारण पर्यटकले होटलमा अग्रिम बुकिङ गर्न पाएका छैनन्।

‘हुमखोलादेखि आधार शिविरसम्मको करिब दुईदिने यात्रामा पर्यटक सञ्चार सम्पर्कबाट पूर्ण रूपमा विच्छेद हुन्छन्,’ मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा पर्यटन व्यवसायी तेज गुरुङले भने, ‘होटलमा पहिले नै सम्पर्क गर्न नसक्दा क्षमताभन्दा बढी पर्यटक आइपुग्छन्, जसले गर्दा बसोबास मिलाउन निकै समस्या भएको छ।’

सञ्चार अभावले पर्यटकको सुरक्षामा गम्भीर चुनौती थपेको छ। पदयात्राका क्रममा पर्यटक बिरामी पर्दा, बाटो बिराउँदा वा हिमपातजस्ता प्राकृतिक प्रकोपमा पर्दा उद्धारका लागि सूचना दिनसमेत कठिन हुने गरेको छ।

‘पर्यटक बेखबर हुँदा आपत्कालीन अवस्थामा उद्धारमा सकस हुन्छ,’ हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भने, ‘बेमौसममा हिमपात वा हिमपहिरो जाँदा कसरी उद्धार माग्ने? सञ्चार सुविधा नहुँदा हराएका पर्यटकको खोजीकार्यमा समेत पटक-पटक कठिनाइ भोग्नुपरेको छ।’

सन् १९५० मा मौरिस हर्जोगले पहिलो पटक सफल आरोहण गरेको यो ऐतिहासिक पदमार्गमा पछिल्ला वर्षहरूमा स्थानीयको पहलमा पदमार्ग निर्माण, होटल तथा टिसप सञ्चालनमा आएका छन्। यसले पर्यटकको आकर्षण बढाएको छ। तर, विद्युत् र सञ्चारजस्ता आधारभूत सुविधा नहुँदा व्यवसायीहरूले जेनेरेटर र ग्याँसको महँगो खर्च व्यहोर्नुपरेको छ।

विराटनगरबाट भ्रमणमा आएका मोहन अटलले पदमार्गको प्राकृतिक सौन्दर्य मनमोहक भए पनि सञ्चार र बिजुली नहुँदाको सास्तीले यात्रा खल्लो बनाएको गुनासो गरे।

‘सरकार र सम्बन्धित निकायले पर्यटकको सुविधा र सुरक्षाका लागि यो पदमार्गमा तत्काल सञ्चार पहुँच विस्तार गर्नुपर्छ’, उनले भने।

असोज ३०, २०८२ बिहीबार ०९:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।