राजनीतिक अस्थिरताले आर्थिक वृद्धिमा चुनौती थप्यो : गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले हालै विकसित राजनीतिक परिस्थितिका कारण देशको वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिमा चुनौती थपिएको बताएका छन्।
अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित ‘सार्कफाइनान्स गभर्नर्स ग्रुप’को ४८औं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक अवस्थाबारे विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू भने सहज अवस्थामा रहेको जानकारी दिए।
उनले थपे, ‘राजनीतिक घटनाक्रमले थपेको चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताका लागि नीतिगत सहजीकरणको प्रयास थालिएको छ।’
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकका दौरान आयोजना गरिएको उक्त बैठकमा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।
बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान प्रणाली र आगामी कार्यदिशा जस्ता विषयमा छलफल भएको थियो। सहभागीहरूले आर्थिक तथा वित्तीय क्षेत्रमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
बैठकले सार्कफाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’ लाई हस्तान्तरण गरेको छ। यसअघि बंगलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरले अध्यक्षता ग्रहण गरेका थिए।
बैठकमा नेपालबाट गभर्नर पौडेलसँगै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको पनि सहभागिता थियो।
‘सार्कफाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो।
सन् १९९८ मा स्थापना भएको यसले सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिबारे छलफल र पारस्परिक सहयोग आदानप्रदान गर्ने मञ्चको रूपमा काम गर्दछ।
असोज ३०, २०८२ बिहीबार ०९:०४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।