सिरहामा गुणस्तरहीन सडक निर्माण : तत्कालीन डिभिजन प्रमुखसहित चार जनाविरुद्ध २ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

सिरहामा गुणस्तरहीन सडक निर्माण : तत्कालीन डिभिजन प्रमुखसहित चार जनाविरुद्ध २ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको एक सडक ढलान योजनामा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन डिभिजन प्रमुखसहित तीन जना इन्जिनियर र एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध कुल २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग गरिएको छ।

सिरहाको कल्याणपुर नगरपालिका-५ स्थित गाढा चिकना सडक (कमलाको बाँधदेखि चिकनाको जमुवा कामतसम्म) ढलान गर्ने करिब ३ करोड ५० लाख रुपैयाँको योजनामा गुणस्तरहीन काम भएको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

सडक डिभिजन कार्यालय, लहानका तत्कालीन कर्मचारी र निर्माण व्यवसायी जय धनन्जय/रब्बानी जे.भी. को मिलेमतोमा गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली बनाएर भुक्तानी लिइएको अख्तियारको आरोप छ।

विज्ञप्तिअनुसार, सडकको गुणस्तर परीक्षण गर्दा ढलान भइसकेको वास्तविक सडकबाट नमुना लिनुपर्नेमा, छुट्टै बनाएका कङ्क्रिटका क्युब परीक्षण गरेर गुणस्तरीय काम भएको भनी नक्कली रिपोर्ट तयार पारिएको थियो।

आयोगको प्राविधिक टोलीले तीन पटकसम्म सडकको विभिन्न भागबाट नमुना संकलन गरी परीक्षण गर्दा गुणस्तर अत्यन्तै कमजोर पाइएको थियो। सडकको डिजाइन अनुसार भारवहन क्षमता २५ N/mm² हुनुपर्नेमा अख्तियारको परीक्षणमा सडकको क्षमता ६.३७, ८.१८, १०.४३ र १७.८६ N/mm² जस्ता अत्यन्तै न्यून देखिएको थियो।

यसकै आधारमा आयोगले सडक डिभिजन, लहानका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सव-इन्जिनियर चन्द्रकान्त चौधरी र निर्माण व्यवसायी रब्बानी कन्स्ट्रक्सनका जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले सरकारी कर्मचारीहरूले पदको दुरुपयोग गरी बदनियतपूर्वक राज्यलाई हानि पुर्याएको र निर्माण व्यवसायीले गैरकानूनी लाभ लिएको भन्दै सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको छ।

असोज ३०, २०८२ बिहीबार ०८:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।