हमासद्वारा थप दुई बन्धकको शव हस्तान्तरण, बाँकी शव फर्काउन थप समय माग्यो

हमासद्वारा थप दुई बन्धकको शव हस्तान्तरण, बाँकी शव फर्काउन थप समय माग्यो

एजेन्सी : हमासले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताका शर्तहरूअनुसार थप दुई इजरायली बन्धकको शव हस्तान्तरण गरेको जनाएको छ। साथै, उसले बाँकी बन्धकहरूको शव फर्काउनका लागि थप समय माग गरेको छ।

हमासको सशस्त्र शाखाले बाँकी शवहरू खोजी गरी निकाल्नका लागि आफूहरूलाई विशेष उपकरण आवश्यक पर्ने बताएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हमासले सम्झौताको पालना नगरेमा इजरायली सेनाले गाजामा पुनः आक्रमण शुरू गर्नसक्ने चेतावनी दिएका छन्।

इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै रेड क्रसबाट बन्धकहरूको शव राखिएको ताबूत प्राप्त भएको र त्यसको आधिकारिक पहिचान प्रक्रिया जारी रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आईडीएफ (इजरायली रक्षा बल) आम जनतालाई संवेदनशीलता अपनाउन र आधिकारिक पहिचानको प्रतीक्षा गर्न आग्रह गर्दछ। यसको सूचना सबैभन्दा पहिले मृतक बन्धकका परिवारलाई दिइनेछ।’

गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले कुल २८ जना बन्धकको शव फिर्ता गर्नुपर्नेछ।

यदि बुधबार राति हस्तान्तरण गरिएका दुई शव इजरायली बन्धककै भएको पुष्टि भएमा, हमासले फिर्ता गरेका कुल शवको सङ्ख्या नौ पुग्नेछ।

असोज ३०, २०८२ बिहीबार ०७:५८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।