दीपेन्द्र अरुभन्दा फरक, गुलशन उत्कृष्ट : प्रशिक्षक स्टुअर्ट ल

दीपेन्द्र अरुभन्दा फरक, गुलशन उत्कृष्ट : प्रशिक्षक स्टुअर्ट ल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीको मुख्य लक्ष्य विश्वकपमा छनोट हुनु भए पनि प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित आफूहरूले खेलिरहेको बताएका छन्।

ओमानलाई उसकै घरेलु मैदानमा पराजित गरेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै उनले विश्वकपमा स्थान सुरक्षित भए पनि आफ्नो काम अझै नसकिएको स्पष्ट पारे।

‘ओमानलाई उसकै घरेलु मैदान र दर्शकअगाडि विश्वस्त रूपमा हराउनु एक उत्कृष्ट प्रयास हो,’ प्रशिक्षक लले भने, ‘हामी विश्वकपमा छनोट हुन पाउँदा खुसी छौँ, तर हाम्रो काम अझै सकिएको छैन। हामी यहाँको उपाधि पनि जित्न चाहन्छौँ, जसले विश्वकप यात्राका लागि राम्रो आधारको काम गर्नेछ।’

प्रतियोगितामा नेपालको ब्याटिङ, विशेषगरी मध्यक्रमको प्रदर्शनबारे सोधिएको प्रश्नमा प्रशिक्षक लले टोलीको नतिजा नै सबैभन्दा महत्त्वपूर्ण भएको बताए।

‘घरमा बसेर हेर्दा सबै पिचहरू फ्ल्याट र ब्याटिङका लागि सजिलो लाग्न सक्छ, तर यहाँका पिचहरू चुनौतीपूर्ण छन्। खेल अघि बढ्दै जाँदा रन बनाउन झनै गाह्रो हुँदै गएको छ’, उनले भने।

उनले थपे, ‘मानिसहरूले हाम्रो ब्याटिङ राम्रो भएन भन्न सक्छन्, तर महत्त्वपूर्ण कुरा के हो भने हामीले हरेक खेल जितेका छौँ। खेल जित्नका लागि आवश्यक रन बनाउन हामी सफल भएका छौँ।’

उनले टोलीको हरेक खेलाडीको भूमिका फरक हुने र उनीहरूलाई सोहीअनुसारको रणनीतिमा खेलाइएको समेत स्पष्ट पारे।

प्रशिक्षक लले कुनै एक खेलाडीको भन्दा पनि टोलीको सामूहिक प्रयासको प्रशंसा गरे। उनले भने, ‘यो एक वास्तविक टोली प्रयास हो। हरेक खेलमा सबैले रन बनाउन वा विकेट लिन सक्दैनन्।’

उनले विशेष खेलाडीहरूको प्रदर्शनको पनि प्रशंसा गरे। कुशल भुर्तेलले यस प्रतियोगितामा आफ्नो खेलमा धेरै सुधार र परिपक्वता देखाएकाे बताएका उनले गुलशन झाले उत्कृष्ट इनिङ खेलेको बताए। उनले ५० रन नबनाए पनि तल्लो क्रममा आएर खेलको लय परिवर्तन गर्ने काम गरेको र बलिङमा पनि अविश्वसनीय सुधार आएको भन्दै प्रशंसा गरे।

सोमपाल कामी नेपालका लागि सधैँ भरपर्दा बलर भएको भन्दै उनले नन्दन यादव हरेक खेलमा आफूलाई सुधार गर्दै लगेको प्रशिक्षक लले बताए।

प्रशिक्षक लले प्रतियोगितामा उत्कृष्ट फिल्डिङ गरेका दीपेन्द्रसिंह ऐरीको विशेष प्रशंसा गरे। दीपेन्द्रले पाँच खेलमा पाँच रनआउट गरेका छन्, त्यो पनि महत्त्वपूर्ण समयमा।

‘दीपेन्द्र अरूभन्दा फरक खेलाडी हुन्। उनीभित्र खेल जित्ने भोक र तिर्खा छ, चाहे त्यो ब्याट, बल वा फिल्डिङबाट होस्। उनी एक शानदार युवा खेलाडी हुन्’, लले भने।

विश्वकप यात्राबारे बोल्दै लले टोली ठूला टिमहरूसँग खेल्न उत्साहित रहेको बताए।

‘यो हाम्रा खेलाडीहरूले चाहेको अवसर हो। यदि भारतमा खेल्न पायौँ भने हामी घरेलु टोलीपछि सबैभन्दा बढी समर्थन पाउने टिम हुनेछौँ। हामीले प्रतियोगितामा डर लिएर होइन, प्रतिस्पर्धाको आनन्द उठाउँदै खेल्नुपर्छ। यदि हामीले आफ्नो योजनाअनुसार खेल्यौँ भने हामी राम्रो गर्नेछौँ’, उनले भने।

असोज ३०, २०८२ बिहीबार ०७:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।