विश्वकप छनोट मात्र होइन, उपाधि जित्ने लक्ष्य थियो : कुशल भुर्तेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टोलीको लक्ष्य विश्वकपमा छनोट हुनु मात्र नभई उपाधि जित्नु रहेको बताएका छन्।
ओमानविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएपछि उनले विश्वकपमा स्थान सुरक्षित भइसके पनि टोलीले खेललाई पूर्ण गम्भीरताका साथ लिएको र उपाधि जित्ने लक्ष्यमा केन्द्रित रहेको स्पष्ट पारे।
ओमानविरुद्धको खेलको रणनीतिबारे बोल्दै उनले भने, ‘हामीले दिनमा भएको यूएई र सामोआको खेल हेरेका थियौं। विकेट ब्याटिङका लागि राम्रो देखिएकाले पहिले ब्याटिङ गरेर बलियो स्कोर खडा गर्ने र त्यसलाई डिफेन्ड गर्ने हाम्रो योजना थियो।’
उनले आफू र आसिफ शेखले राम्रो सुरुवात दिलाए पनि अन्त्यमा टोली १५-२० रनले पछि परेको महसुस भएको बताए।
‘स्कोर केही कम भए पनि हामीलाई आफ्नो बलिङ र फिल्डिङमा विश्वास थियो। हामीले यो स्कोर डिफेन्ड गर्न सक्छौं भन्नेमा ढुक्क थियौँ’, उनले थपे।
विश्वकपमा छनोट भइसकेकाले दबाब कम थियो कि भन्ने प्रश्नमा भुर्तेलले टोलीको मानसिकता स्पष्ट पारे।
‘हामीले त्यस्तो सोचेकै थिएनौँ। हामी यहाँ विश्वकप छनोट हुन मात्र होइन, ट्रफी जित्न आएका हौँ। हाम्रो एकमात्र उद्देश्य उपाधि जित्नु थियो,’ उनले भने, ‘त्यसैले आजको खेल हाम्रो लागि निकै महत्त्वपूर्ण थियो। जो जित्छ, त्यही उपाधिको बलियो हकदार हुन्छ भन्ने हामीलाई थाहा थियो।’
प्रतियोगितामा दुई अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरिरहेका भुर्तेलले आफ्नो लयमा फर्किनुको श्रेय निरन्तरको खेल अनुभवलाई दिए।
उनले भने, ‘हामीले यहाँ आउनुअघि अस्ट्रेलियामा प्रशिक्षण गर्यौँ र धेरै खेलहरू खेल्यौं। त्यतिबेला रन नबने पनि खेल अनुभवले आत्मविश्वास बढाइरहेको थियो।’
उनले विश्वकप क्वालिफायरजस्तो ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्न पाउँदा खुसी लागेको बताए।
आगामी विश्वकप भारत र श्रीलंकामा हुने भएकाले भुर्तेल निकै उत्साहित छन्।
‘विश्वकपका लागि अहिलेदेखि नै उत्साहित छु। खेल नेपाल नजिकै हुँदैछ, जुन हाम्रो लागि घरेलु मैदानजस्तै हो। एसिया कपमा जस्तै समर्थकको ठूलो साथ पाउने आशा छ’, उनले भने।
उनले यो सफलतापछि टोलीको ध्यान अब विश्व क्रिकेट लिग-२ मा केन्द्रित हुने पनि बताए, जुन एकदिवसीय विश्वकप छनोटका लागि महत्त्वपूर्ण छ।
असोज ३०, २०८२ बिहीबार ०७:२२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।