टी-२० विश्ककप छनोटमा ओमानलाई हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौं : टी-२० एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा प्रभावशाली प्रदर्शन गर्दै नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित गरेको छ।
जितसँगै अपराजित रहेको नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ र उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाएको छ।
जितका लागि १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका ब्याट्सम्यानहरू नेपाली बलरविरुद्ध खुलेर खेल्न सकेनन्।
खराब सुरुवात गरेको ओमानले २७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर तथा कप्तान जतिन्दर सिंहलाई १४ रनमा सोमपाल कामीले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। लगत्तै, नन्दन यादवले हमाद मिर्जा (४) लाई पभेलियन फर्काए भने आमिर कालिम (१) लाई दीपेन्द्रले रनआउट गरे।
आर्यान बिष्ट ११ रनमा सन्दीप लामिछानेको शिकार बने। त्यसपछि गुलशन झाले उत्कृष्ट बलिङ गर्दै ओमानको मध्यक्रम धराशायी बनाए। उनले नदिम खानलाई १ रनमा बोल्ड गरे। पछि १४ औं ओभरमा लगातार दुई बलमा मोहम्मद नदिम (२५) र जितेन रामानन्दी (०) लाई आउट गर्दै ओमानलाई ७०/७ को कमजोर स्थितिमा पुर्याए।
आठौं विकेटका लागि विनायक शुक्ला (३२) र सुफयान मोहम्मद (९) ले ३३ रनको साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त भएन।
नेपालका लागि गुलशन झाले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। आसिफ २४ रनमा आउट भए।
त्यसपछि ओमानका बलर नदिम खानले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखे। उनले कप्तान रोहित पौडेल (१), दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) लाई सस्तैमा आउट गरे। यसैबीच, कुशल मल्लले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो १,००० रन पूरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने पाँचौं नेपाली खेलाडी हुन्।
एक छेउबाट टिकिरहेका कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको महत्वपूर्ण पारी खेले। उनले आदिल अन्सारी (१६) सँग पाँचौं विकेटका लागि ४० रनको साझेदारी गरे। अन्त्यमा, गुलशन झाले १० बलमा दुई छक्कासहित १८ रनको महत्वपूर्ण योगदान दिए।
ओमानका लागि नदिम खानले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। सुफयान मोहम्मद र जितेन रामानन्दीले समान २-२ विकेट लिए।
यो लगातार चौथो जितसँगै नेपाल ८ अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ भने ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। नेपालले अब आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।
असोज ३०, २०८२ बिहीबार ०७:०९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।