जेन-जीको नेता बनेका शाही बैंकिङ कसुरको दुई मुद्दामा फरार, एक मुद्दामा धरौटीमा छुटेका थिए

काठमाडौं : जेन-जी समूहको नेता बन्दै संवैधानिक आयोग र सरकारी कार्यालयमा धम्क्याउँदै हिँडेका अर्जुनबहादुर शाही दुई वटा मुद्दामा फरार रहेको खुलेको छ। प्रहरीको तथ्याङ्कमा उनी प्रहरी वृत्त बौद्ध र स्वयम्भूमा परेको जाहेरीमा फरार देखिएपछि बुधवार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बुधवार कोटेश्वरमा पक्राउ गरेको थियो। उनी विरुद्ध बौद्ध प्रहरीमा २०८१ पुस २३ मा र स्वयम्भूमा २०८१ वैशाख २३ मा जाहेरी परेको देखिन्छ। दुवै जाहेरीको अनुसन्धान सकाएर मुद्दा अदालत पुगे पनि उनी हाजिर भएको नदेखिएपछि बुधवार पक्राउ गरेको प्रहरीको भनाई छ।
उनी यी मुद्दा बाहेक २०८१ वैशाख २७ मा प्रहरी वृत्त महाराजगन्जमा परेको बैंकिङ कसुरकै अर्को जाहेरीमा जमानीमा रिहा भएको आपराधिक तथ्याङ्क खुलेको छ। महाराजगन्ज वृत्तमै परेको बैंकिङ कसुरको अर्को मुद्दामा उनी काठमाडौं जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेको खुलेको छ।
जेन-जी आन्दोलनपछि एकाएक राजनीतिमा सक्रिय देखिएका उनी सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएपछि शीतल निवासमा भएको शपथमा समेत सहभागी थिए। बुधबारमात्रै गृहमन्त्री ओम प्रकाश अर्यालले जेन-जीको नाममा अराजकता फैलाउनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका थिए।
असोज २९, २०८२ बुधबार २१:३५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।