पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टे युद्धविरामको सहमति

एजेन्सी : लगातारको सीमा झडप र तीव्र तनावबीच पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामको सहमति भएको दुवै देशका अधिकारीहरूले पुष्टि गरेका छन्।
गत एक सातादेखि जारी भिडन्तमा दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान गएपछि अस्थायी युद्धविराम घोषणा गरिएको हो। अफगान राजधानी काबुल र अन्य सहरमा भएका विस्फोटपछि दुवै देशले हिंसा रोक्ने सहमति जनाएका हुन्।
तालिबान सरकारले दक्षिणी सीमाका केही भागमा प्रतिशोधस्वरूप आक्रमण थालेपछि पाकिस्तानले तीव्र प्रतिक्रिया दिएको थियो। इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) लाई आश्रय दिएको आरोप लगाउँदै आएको छ।
बुधबार साँझ काबुलमा भएका दुई ठूला विस्फोटपछि कालो धुवाँले आकाश ढाकेको दृश्य एएफपीका पत्रकारहरूले देखेका थिए। तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तेल ट्याङ्कर र जेनेरेटरमा विस्फोट हुँदा आगलागी भएको बताएका छन्।
तर पाकिस्तानी सुरक्षा स्रोतले भने ती विस्फोट “इस्लामावादद्वारा गरिएको सटीक हवाई आक्रमण” भएको दाबी गरेको छ। विस्फोटपछि काबुलका सडकमा एम्बुलेन्स दौडिरहेका र भवनहरूका सिसा फुटेका दृश्यहरू देखिएको एएफपीले जनाएको छ।
यो आक्रमणपछि करिब एक घण्टामै इस्लामावादले ४८ घण्टे युद्धविरामको घोषणा गरेको थियो। काबुलमा तालिबान अधिकारीहरूले आफ्ना सेनालाई युद्धविरामको पालना गर्न आदेश दिएका छन्।
यसअघि पाकिस्तानी सेनाले अफगान तालिबानले दक्षिणपश्चिम र उत्तरपश्चिमका दुई प्रमुख सीमा चौकीमा आक्रमण गरेको आरोप लगाएको थियो। अफगानिस्तानको कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बुधबार बिहान भएको भिडन्तमा २० तालिबान लडाकू मारिएको पाकिस्तानी सेनाले जनाएको छ।
सेनाको विज्ञप्तिमा भनिएको छ, “तालिबानले सर्वसाधारण बसोबास भएका गाउँहरूलाई समेत लक्षित गर्दै अन्धाधुन्ध आक्रमण गरेको छ।”
उत्तरपश्चिम सीमामा रातभर चलेको गोलीबारीमा थप ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ। तालिबान पक्षले स्पिन बोल्दाक क्षेत्रमा १५ सर्वसाधारण मारिएको र करिब सय जना घाइते भएको जनाएको छ।
तर पाकिस्तानी सेनाले उक्त दाबीलाई “पूर्ण रूपमा झुट र प्रचारमूलक” भन्दै खारेज गरेको छ। पाकिस्तानले पछिल्लो भिडन्तमा आफ्ना क्षतिको विवरण सार्वजनिक गरेको छैन, तर गत हप्ताको पहिलो झडपमा आफ्ना २३ सैनिक मारिएको जनाएको थियो।
असोज २९, २०८२ बुधबार २१:२५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।