ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्सको महत्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। 

अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

यो खेल प्रतियोगिताका दुई अपराजित टोलीबीचको रोमाञ्चक भिडन्त पनि हो। नेपाल र ओमान दुवैले सुपर सिक्समा समान ६ अङ्क जोडेका छन्, तर नेट रन रेटमा ओमान शीर्ष स्थानमा छ।

आजको खेलले कुनै एक टोलीको अपराजित यात्रामा पूर्णविराम लगाउनेछ भने विजेता टोली उपाधिको बलियो दाबेदार बन्नेछ।

ओमानलाई घरेलु मैदान र परिचित वातावरणको फाइदा भए पनि अल अमिरात मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहने निश्चित छ, जसले नेपाललाई घरेलु मैदानकै अनुभूति दिलाउन सक्छ।

हेड-टु-हेड तथ्याङ्कमा पनि नेपाल ओमानभन्दा बलियो देखिन्छ। अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ।

यस प्रतियोगितामा नेपालको प्रदर्शन अविश्वसनीय पुनरागमनले भरिएको छ। विशेषगरी बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले हारको मुखबाट जित खोसेको छ। कतारविरुद्धको खेलमा सन्दीप लामिछानेले लिएको पाँच विकेट यसको उदाहरण हो।

तर, ब्याटिङ भने नेपालको मुख्य चिन्ताको विषय बनेको छ। मध्य ओभरमा सुस्त रन गति र ब्याटरहरूको कमजोर स्ट्राइक रेट सुधार गर्नुपर्ने चुनौती छ।

नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। नेपाल आईसीसी टी-२० विश्वकप खेल्ने पक्का भइसकेको छ। आजै भएको खेलमा यूएईले सामोआलाई ७७ रनले पराजित गरेसँगै नेपालको दुई खेल अघि नै विश्वकप यात्रा सुनिश्चित भएको हो।

असोज २९, २०८२ बुधबार २०:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।