आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा दिन भक्तपुर क्यान्सर अस्पतालद्वारा केयर फन्ड विस्तारको घोषणा

आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा दिन भक्तपुर क्यान्सर अस्पतालद्वारा केयर फन्ड विस्तारको घोषणा

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस-२०२५ को अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गर्दै देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। सो अवसरमा अस्पतालले “बीसीएच प्यालियटिभ केयर फन्ड ” स्थापना गर्ने घोषणा गरेको छ। जसको रकम आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिनेछ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले स्वागत मन्तव्य दिँदै जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुने बताए। ‘हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,’ उनले भने।

डा. चालिसेले नेपालमै पहिलोपटक होस्पिस सुविधा स्थापना गर्ने लक्ष्य रहेको बताउँदै, यसका लागि सरकारी, गैर-सरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको छ र यसलाई थप सुदृढ बनाउने योजनामा छ।

अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा र सिटी स्क्यानका सुविधा उपलब्ध गराइरहेको छ भने यसै वर्षदेखि पीईटी स्क्यान सेवा पनि सुरु गर्न लागेको जानकारी दिइयो।

कार्यक्रमकी प्रमुख अतिथि मिस नेपाल २०२५ लुना लुइटेलले प्यालियटिभ केयरलाई मानवीय मूल्यसँग जोडिएको अभियान भन्दै समाजका सबै वर्गले यसलाई सामाजिक दायित्वको रूपमा लिनुपर्ने बताइन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५-२०३५ का लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिए। उनका अनुसार उक्त रणनीतिले देशभर प्यालियटिभ सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

डा. चालिसेले उक्त रणनीतिको पाँच मुख्य पक्ष- मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता र समुदाय संलग्नता प्रस्तुत गर्दै नेपालमा प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

हाल नेपालमा प्यालियटिभ केयरमा विशेष एमडी डिग्री प्राप्त दुई जना मात्र चिकित्सक कार्यरत छन् र दुवै जना भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत रहेको अस्पतालले जनाएको छ। 

सो अवसरमा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर (रु १ लाख), डीके मेडि सेल्स (रु ५ लाख बराबरको सहयोग), ईस्ट वेस्ट कन्सर्न (रु २ लाख) र श्रीमती उषा दीक्षित (रु १ लाख) द्वारा बीसीएच प्यालियटिभ केयर फन्डमा सहयोगको प्रतिबद्धता जनाइएको थियो। कार्यक्रम भक्तपुर क्यान्सर अस्पतालको प्राङ्गणमा सम्पन्न भएको थियो।

असोज २९, २०८२ बुधबार २०:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।