केन्द्रमा सत्ता गुमाएको दल प्रदेशमा किचलो गर्दै, मधेसमा जितेन्द्र मुख्यमन्त्री बन्दा कांग्रेस नाराबाजीमा

जनकपुरधाम : जेन-जी आन्दोलनको प्रभावपछि केन्द्रमा अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनसँगै दलहरू सत्ता बाहिर पुगे। तर प्रदेश सरकार भने जीवितै छ। केन्द्रमा संसद् नभएपछि सरकारको जोड घटाउकोक्रम पनि रोकियो। उता मधेस प्रदेश सरकारमा भने योक्रम जारी नै छ।
मधेस प्रदेशमा जनमत पार्टीले बहुमत गुमाएसँगै नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेतृत्वको दाबी गरिरहेको थियो। तर अन्य दलहरू मिलेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई समर्थन गरेपछि उनी नयाँ मुख्यमन्त्री नियुक्त भए।
सोनलले ६ दलको समर्थनमा ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम उनलाई बुधवार नै मुख्यमन्त्रीमा नियुक्त गरिन्।
यस अगाडि नै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। जितेन्द्रले जनमतको समर्थन आफूलाई रहेको दाबी पेस गरेपछि उनी नियुक्त भए। यता कांग्रेस विरोधमा उत्रियो।
यो विवादले बुधवार दिउँसो प्रदेश प्रमुख कार्यालय परिसरमा कांग्रेस, लोसपा र जनमत कार्यकर्ताबीच तनावपूर्ण स्थिति बन्यो। सुरक्षाका लागि सेना नै खटिनु परेको थियो।
सोनलको नियुक्तिलाई कांग्रेसले असंवैधानिक भएको दाबी गरिरहेको छ। उता सरकार बनाउने मुख्य निर्णायक शक्ति बनेको जनमत पार्टी भने विभाजित भइसकेको छ। जनमतका केही नेताहरूले जनस्वराज पार्टी (जस्वपा) मा गठन गरिसकेका छन्।
निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ समेत नयाँ पार्टीमा सहभागी भएका छन्। जनमतमा प्रदेशका कति सांसद छन् र नयाँ पार्टीमा कति जना छन् त्यो भने खुलेको छैन।
असोज २९, २०८२ बुधबार २०:१२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।