भेपबाट सुन तस्करीमा संलग्न रहेको आरोपी महरा पुर्पक्षका लागि थुनामा, केन्द्रीय कारागारमा राखियो

काठमाडौं : भेपभित्र लुकाएर सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग सम्बन्ध देखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ।
बुधवार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसकोक्रममा अदालतले महरालाई मुद्दाको अन्तिम किनारा नलगाएसम्म कारागारमै राख्न आदेश दिएपछि सुनधारास्थित केन्द्रीय (जगन्नाथदेवल) मा राखिएको छ।
सोमबार अभियोग पत्र दर्ता भएपछि मंगलबार उनको बयान भएको थियो भने बुधवार थुनछेकको बहस भएको थियो। बयान तथा थुनछेक बहसपछि इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
८ करोड बढी बिगो र ३ वर्षभन्दा बढी कैद मागदाबी
अभियोग पत्रमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय मागदाबी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार उनलाई पक्राउ गरेको थियो।
महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको छ। घटना १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर FZ-0587 बाट काठमाडौं आएका चिनियाँ राहदानीधारी ली हानसोङ बाट सुरु भएको हो।
हानसोङले ल्याएका दुई सुटकेस शङ्कास्पद देखिएपछि जाँचका क्रममा भेप भेटिएको थियो, जसलाई भन्सार कार्यालयले नियन्त्रणमा लियो। हानसोङले पासपोर्ट फिर्ता लिएर अर्को दिन नेपाल छाडे, तर भेप लामो समय भन्सारमै रह्यो।
भेप साटिएको शङ्का र सीआईबीको निष्कर्ष
भेपभित्र सुन लुकाइएको सूचना पाएपछि भन्सारका केही कर्मचारीले त्यसलाई साटेको आशङ्का गरिएको थियो। यसपछि भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गर्दै अनुसन्धानको जिम्मा दिएको थियो।
लगभग दुई महिनाको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनामाथि मुद्दा दायर गरेको थियो।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा चलाइएको छ।
प्रमाणभन्दा शंका हावी
भेपभित्र लुकाएर नेपाल भित्र्याएको ९ किलो सुन तस्करीमा महराको संलग्नताबारे सीआइबीले तीन पटक अनुसन्धान गरेको थियो। पहिलो पटक बयानै लिएन। दोस्रो पटक कागज गराएर छाड्यो। तेस्रो पटक अनुसन्धान शुरु गरेको करिब एक वर्षपछि आइतबार पक्राउ गरेको थियो।
सिआइबीको प्रस्तावित राय अनुसार सोमबार दर्ता भएको अभियोग पत्रमा उनी सुन तस्करीमा संलग्न रहेको तथ्य भन्दा पनि शंकाहरु हावी देखिन्थे। तर अदालतले उनलाई पुर्पक्षमा पठायो। उनको छोरा राहुल पनि सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि एक वर्षदेखि कारागारमै छन्।
सम्बन्धित समाचार
असोज २९, २०८२ बुधबार १८:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।