सिंहदरबारमा एसएलआर कक गर्दै पोजिसन लिने ‘सम्राट्’ राजुको नाममा आठ अपराधका जाहेरी

काठमाडौं : जेन-जी आन्दोलनको दोस्रो दिन फैलिएको हिंसात्मक घटनामा देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा प्रहरीको सेल्फ–लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वचालित राइफल बोकेर उच्छृङ्खल गतिविधि गरेको आरोपमा ललितपुरको सुनाकोठीबाट सम्राट्’ भनिने ३६ वर्षका राजु परियारलाई पक्राउ गरेको हो।
जेन-जी आन्दोलनकोक्रममा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू खोज्नेक्रममा कार्यालयको ललितपुर शाखाले बुधवार उनलाई पक्राउ गरेको हो। आन्दोलनको दिन सिंहदरबार अगाडि सुरक्षाकर्मीको एसएलआर खोसेर उनले बन्दुक चलाउने पोजिशन लिइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
पहिचान लुकाउन उनले क्याप, मुखमा कालो मास्क र शरीरका कपडा फुकालेका थिए। तर ती भिडियोमध्ये एकमा उनको अनुहार समेत देखिएको थियो। त्यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई पक्राउ गरे पनि हतियार भने फेला परेको छैन। एक प्रहरी अधिकारीका अनुसार सो हतियार सेनालाई बुझाएको दाबी गरेका छन्। तर यसबारे पुष्टि भने हुन सकेको छैन।
हत्याप्रयासदेखि ठगीसम्मका जाहेरी
प्रहरीले परियारको पृष्ठभूमिबारे अध्ययन गर्दा उनी ८ वटा आपराधिक घटनामा संलग्न रहेको खुल्यो। त्यसमा दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, एक बैङ्किङ कसुर र दुईवटा अभद्र व्यवहारसम्बन्धी मुद्दा हुन्।
एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार गङ्गामाया देउलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा उनी विरुद्ध हत्या प्रयास गरेको दाबीसहित जाहेरी दिएकी थिइन्। ललितपुरका रोमन महर्जनले पनि ललितपुरमा उनी विरुद्ध हत्या प्रयासमा जाहेरी दिएका थिए।
उनी विरुद्ध रवि तामाङ (प्रहरी वृत्त नयाँबानेश्वर), मिक्सार तामाङ (ललितपुर परिसर) र सुदन बैजु (स्वयम्भू वृत्त) मा ठगी सम्बन्धी जाहेरी दिएको खुलेको छ। उनी विरुद्ध राजकुमार खड्गीले प्रहरी वृत्त महाराजगन्जमा बैङ्किङ कसुरको जाहेरी दिएको र गोविन्द रिमाल (ललितपुर परिसर) र रवि तामाङ (नयाँबानेश्वर वृत्त) मा अभद्र व्यवहारको जाहेरी परेको खुलेको छ।
असोज २९, २०८२ बुधबार १८:२७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।