जेन-जीको नाममा सरकारी कार्यालय गएर दबाब दिनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी

जेन-जीको नाममा सरकारी कार्यालय गएर दबाब दिनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जीको नाम लिएर कसैले उपद्रव गर्छ भने त्यसलाई कानुनी कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन्। सुधन गुरुङ लगायतको समूह पछिल्लो समय सरकारी कार्यालयहरूमा गएर निर्देशन दिने, राजीनामा दिन दबाब बढाउने जस्ता गतिविधि बढाइरहेका छन्।

सुधन विभिन्न मन्त्रालयमा गएर कर्मचारीहरूलाई जवर्जस्ती बैठकमा बोलाएर निर्देशन दिँदै हिँडिरहेका छन्। जेनजी अभियन्ता दाबी गर्दै हिँडिरहेका अर्जुन शाहीको समूहले विभिन्न संवैधानिक र सरकारी कार्यालयहरू गएर पदाधिकारीहरूलाई राजीनामा दिन दबाब बढाइरहेका छन्। जबकि शाहीको पृष्ठभूमि भने ठगीको आरोपले भरिएको देखिन्छ।

यसैबारे बुधवार गृह परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा गृहमन्त्री अर्यालले अधिकार प्राप्त नगरेको व्यक्ति सरकारी कार्यालयमा गएर दबाब बढाउने काम गर्नु कानुन विपरीत रहेकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने दाबी गरे।

“जेन-जीको आन्दोलन सुशासनका लागि भएको हो। यस्ता गतिविधि सुशासन विपरीत हो,” उनले भने “ जेन-जीको नाममा कसैले उपद्रव गर्छ भने त्यस्तालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउँछ।”

उनले जेन-जी पुस्ताको आन्दोलनपछिको अवस्थाबारे असन्तुष्टि समेत जनाए। जेन-जी पुस्ताको आन्दोलनलाई क्रान्ति भन्दै उनले आफू सहभागी सरकारलाई क्रान्तिपछि बनेको सरकार भन्दै यसलाई आतङ्ककारी बनाउने प्रयास भइरहेको तर्कसमेत गरेका थिए।

असोज २९, २०८२ बुधबार १७:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।