काठमाडौंको कोर एरियामा आगो लागे लगत्तै महानगरको दमकलमा फोन गर्दा जवाफ आयो ‘ड्राइभर छैन’

काठमाडौंको कोर एरियामा आगो लागे लगत्तै महानगरको दमकलमा फोन गर्दा जवाफ आयो ‘ड्राइभर छैन’

काठमाडौं : असोज १३ गते सोमबार धारामा पानी आउने बार थियो। काठमाडौंको भीमसेनथानका स्थानीय विजय श्रेष्ठ बिहान चार बजे नै बिउँझिए। घरबाहिर निस्किँदा हल्लाखल्ला थियो। नजिकै आगलागी भएको थाहा पाए। तुरुन्तै आगलागी भएको घर अगाडि पुगे पछि उनले न्युरोडको जुद्ध शालिक अगाडि रहेको दमकललाई फोन लगाए। 

फोन नउठेपछि केही व्यक्तिहरू दमकल बोलाउन न्युरोड पुगे। तर ‘ड्राइभर छैन’ भन्ने जवाफ पाए। स्थानीयहरू आफै आगो निभाउन निरन्तर प्रयास गरिरहेका थिए। तर आगो झनै दनदनी सल्किँदै थियो। विजयले दमकल र महानगरमा लगातार फोन गरिरहे। बल्लबल्ल महानगरको फोन उठ्यो। त्यतिबेला बिहानको साढे चार भएको थियो। फोन उठेको केही बेरमा बल्ल महानगरको दमकल आइपुग्यो। 

४:४५ बजे घटनास्थलमा देखिएको काठमाडौं महानगरपालिकाको दमकल

‘सुरुमै फोन गर्दा आएको भए अथवा हाम्रो यहाँको टोलवासीले बोलाउन जाँदा आएको भए यति धेरै क्षति हुँदैन थियो होला,’ जलेको घरहरू देखाउँदै श्रेष्ठले भने, ‘एक त कपडाको गोदाममा आगलागी भएको । त्यसको आगो यति ठुलो हुने रहेछ। सिलिण्डरहरू केही बेरमै ड्याङ ड्याङ पड्कियो नि। धन्न मानवीय क्षति चै भएन। तर घरहरू बस्न नसक्ने अवस्थाको छ।’  

दुई तलाको टहरामा आगलागी भएकोमा आगो दन्किएर यहाँको १२ वटा घर जल्यो। आगो नियन्त्रणमा लिन पछि भक्तपुर र ललितपुरबाट सशस्त्र प्रहरीहरू समेत लागेका थिए। 

दशैंको फुलपातिको दिन परेकाले आगलागी हुँदा डेरामा बस्नेहरू दशैं मनाउन गाउँ हिडिसकेका थिए। यहाँका स्थानीयहरु मिलेर सिलिण्डर पड्किन नदिन वरपरको घरबाट बाहिर निकालिदिएका थिए।

‘तर केही सिलिन्डर बाहिर निकाल्नु अघि नै पड्किसकेका थिए। आगलागी भएको घरको राप मेरो घरसम्मै आएको थियो,’ उनले भने। 

‘यति धेरै टोलका मान्छेहरु साक्षी छ। लगभग एक घण्टा भन्दा ढिला दमकल आएको कारण क्षति भएको हो,’ उनले भने । दिनभर जस्तो तनावग्रस्त बनेको त्यहाँको आगो बेलुकासम्म पनि पूर्णरुपमा नियन्त्रण भएको थिएन। दमकलको आवतजावत भइ नै रह्यो।  

विरगञ्जका कपडा व्यवसायी मोहन साहले केही समय अघि यहाँ आधा रोपनी जग्गा किनेर जस्ताको टहरा बनाएका थिए। केही समययता परिवारसहित यतै बस्ने गरेका साहले गोदाम समेत यहीँ राखेका थिए। आगलागीले पाँचवटा घर पूर्ण रुपमा जलेका छन्। आगलागी नजिकैको टोल चिकमुलगका घरहरूमा समेत छोएको देखिन्छ। 
 

तस्विर : काठमाडौं महानगरपालिका

‘दौडेर आयो भने पनि एक मिनेटको बाटो’

यही घरहरूको बीचमा प्रधानहरूको आँगन देवताको मन्दिर समेत जलेको छ। ‘दौडेर आयो भने पनि एक मिनेटको बाटो हो। यहाँको मरु गणेशबाट त चिच्याएर बोलायो भने पनि त्यहाँ दमकलसम्म आवाज पुग्न सक्ने अवस्था छ। यस्तो बेलामा पनि महानगरले ढिलो किन गर्यो भनेर त अब छानबिन भयो भने नै थाहा हुन्छ होला,’ उनले भने।

केही स्थानीयका अनुसार आगो बिहानको तीन बजेतिर नै लागेको थियो। त्यहाँ रहेका केही व्यक्तिहरूको उद्धार काठमाडौं महानगरपालिका-२० का अध्यक्ष राजेन्द्र मानन्धरले गरेका थिए। उक्त आगलागीको घटनाबारे बताउँदै उनले भने, ‘मैले पनि चार बजेपछि थाहा पाएको हुँ। म जाँदा दमकलहरू आउँदै थिए, तर आगो एकदम ठूलो थियो।’

वडा अध्यक्ष मानन्धरका अनुसार गोदाममा धेरै नाइलनको कपडा भएकाले आगो ठूलो बलेको थियो। धेरै राप आएपछि निभिसकेको आगो पनि फेरि सल्किँदै गएको थियो। यहाँका पुराना घरहरूको काठ मक्किसकेको र पुरानो भएको कारण पनि आगो ठूलो भएको उनको भनाइ छ।

असोज १३ मा आगलागी भएकोमा निवेदन भने असोज २१ गते मात्र वडामा आएको थियो। आगलागी भएको अवस्थामा क्षतिपूर्ति र पीडितको पुनःस्थापनाका लागि के गर्ने भन्नेबारे नियम नभएको उनले बताए। उनी भन्छन्, ‘सरकारले केही गर्छ जस्तो लाग्दैन मलाई। निवेदनबारे त बल्ल बुझ्न आएको छ। अब महानगरमा त्यसबारे कुरा राख्ने हो। पीडितहरूले आफैं पनि त्यहाँ गएर बुझोस्।’

विस्थापित भएकाहरूलाई उनले वडाबाट त्रिपाललगायतका सामान उपलब्ध गराएका रहेछन्। स्थानीय सरकारले आगलागी जस्तो विपद्को तयारी गर्न चुकेको भन्दै उनले भने, ‘यति ठूलो आगो मैले अहिलेसम्म देखेको छैन। सशस्त्र प्रहरी, आर्मीदेखि लिएर उपत्यकाका सबै नगर प्रहरी र दमकल मिलेर आगो निभायो। यहाँको फायर हाइड्रेन्ट केही कामै लाग्ने रहेन।’

उनले सुने अनुसार आगलागी विद्युत् सर्ट भएर भएको हो। तर ठ्याक्कै यकिन गर्न छानबिन र अनुसन्धानले नै भन्नुपर्ने उनको भनाइ छ। आगो अन्य ठाउँमा पनि फैलिन्छ भनेर त्यहाँका केही स्थानका तारहरू समेत काटेर बिजुली प्रवाह रोकेको रहेछ। दशैंभरी अँध्यारोमा बसेका केही टोलवासीहरूले एक हप्ता पछि मात्र घरमा बिजुली बाल्न पाएको गुनासो गरे।

म्युजियममा राख्ने जस्तो दमकल !

‘यो अन्य विपद् भन्दा फरक रहेछ। हाम्रो जस्तो कोर एरियामा त पूर्वतयारी कमजोर भएको देखियो। अझ ऐतिहासिक सम्पदा भएको ठाउँमा यो झन् खतरनाक हुने भयो नि। यस्तै ठूलो आगो हनुमानढोकामा लागेको भए के हुन्थ्यो? हाम्रो दमकलहरू त म्युजियममा राख्ने जस्तो रहेछन्! महानगरलाई थाहा छैन र यहाँको बाटो, यहाँ कस्तो दमकल चाहिन्छ भनेर?’ उनले प्रश्न गरे।

२० नम्बर वडामा यसअघि यति ठूलो क्षति हुने गरी आगो लागेको थाहा नभएको समेत उनले बताए। धेरै मन्दिरहरू भएको यस क्षेत्रमा धूप र बत्तीका कारण कहिलेकाहीँ आगलागी हुने गरे पनि ती तत्कालै नियन्त्रणमा आउने गर्थे। ‘महानगरले सहयोग नै नगरेको भन्ने होइन, तर क्षति कम गर्न सकेन नि। धन्न मानवीय क्षति भएन, त्यही नै ठूलो कुरा हो,’ उनले भने।

साँघुरो गल्ली भएको क्षेत्रमा ठूला-ठूला दमकल आउन नसक्ने भएकाले पनि समस्या भएको उनले बताए। कोर एरियासहित दमकल पुग्न नसक्ने ठाउँमा साना दमकल राख्नुपर्ने सुझाव पनि उनले दिए।

उनी भन्छन्, ‘दन्किएको आगो निभाउन निकै गाह्रो हुने रहेछ। अब महानगरको बैठक बस्दा हामीले पक्कै पनि यी कुरा बैठकमा उठाउनेछौं। हाम्रो तयारी पुगेन, त्यसमा जस्तोसुकै भए पनि ध्यान दिनैपर्ने छ।’

महानगरपालिकाको दमकल अहिले मात्र होइन, पहिले पनि ढिला पुग्ने गरेको स्थानीयहरूले बताए। दमकल ढिला पुग्नुका कारणमध्ये एक त दमकलको ढिलो हिड्नु हो, अर्को भने काष्ठमण्डप वरपरका फुटपाथ पसल र गद्दी बैठक अगाडि बाँधिएका चेनहरू पनि हुन्।

२०७२ सालको भूकम्पपछि यहाँका साँघुरा गल्लीमा पस्न सक्ने मोटरसाइकलहरूले समेत आगो निभाउने काम गरेका थिए।

नयाँ स्थानीय सरकार बनेपछि वडाहरूमा फायर हाइड्रेन्ट र ड्राइ राइजर राखिएको थियो, तर यो सबै वडामा छैन। त्यसैगरी, महानगरले आठ महिना अघि मात्र ड्रोनबाट आगो निभाउने भनेर सफल परीक्षणसमेत गरेको थियो। तर अहिले काठमाडौं महानगरमा लगातारजसो आगलागीका घटना हुँदा न ड्रोन देखियो, न अग्नि नियन्त्रक मोटरसाइकल नै।

आगोबाट असुरक्षित कोर एरिया

वैशाख ३१ गते मात्र इन्द्रचोक नजिकैको मखन गल्लीको घरमा ग्याँस लिक भएर आगलागी हुँदा एक वृद्ध महिलाको मृत्यु भएको थियो। आगलागी भएको घर पूर्ण रूपमा ध्वस्त भयो।

उकेराकर्मी उक्त घर खोज्दै जाँदा बाटोमा लगातार दुईवटा ड्राइ राइजर देखिन्थ्यो। ड्राइ राइजर भनेको दमकलसँग जोडेर पानी फाल्ने सुख्खा पाइप हो। यहाँ पनि दमकल ढिलो पुग्दा चारवटा घरमा क्षति भएको देखियो। महानगरका अनुसार यहाँ मखनको आगो निभाउन दुई घण्टाभन्दा बढी समय लागेको थियो।

मखनमा आगलागी भएको थाहा पाएर दमकल लगेर जाँदा ढुंगा ओछ्याउने काम भइरहेको कारणले आधा घण्टा ढिलो भएको महानगरको विपद् व्यवस्थापन महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले बताए।

‘मखनको आगलागीको कुरा गर्न पर्दा, फोन आउने बित्तिकै हामी त्यहाँ पुगेका थियौं। तर इन्द्रचोकबाट सुरज आर्केड जाने बाटोमा ढुंगा ओछ्याउने काम भइरहेको थियो। त्यो पन्छ्याएर आगलागी भएको घरसम्म पुग्न करिब आधा घण्टा जति समय लाग्यो,’ उनले भने।

मखनमा पनि आगो धेरै ठूलो सल्किनुको कारण काठका पुराना घर नै भएको उनको भनाइ छ। ‘लगभग ९० प्रतिशत आगो निभाएपछि भित्र मानिस छ भन्ने कुरा आयो। अनि खोजबिन गर्दा हामीले वृद्ध महिला मृत अवस्थामा भेट्यौं,’ उनले भने।

उनका अनुसार ती महिला फुटपाथ व्यवसायी थिइन्। चुरोट र चिया बेच्ने गर्थिन्। त्यही घरमा डेरामा बस्दै आएकी थिइन्।

भीमसेनथानमा आगलागी भएको जानकारी बिहान ४ बजेर ४० मिनेटमा मात्र आएको जोशीले दाबी गरे। ‘भीमसेनथानको आगलागीबारे चाहिँ हामीलाई बिहान ४ बजेर ४० मिनेटमा फोन आएको थियो। ४ बजेर ४४ मिनेटमा हाम्रो दमकल आगो निभाउन हिँडिसकेको थियो। दोस्रो दमकल हाम्रो त्यहाँ ५ बजेर एक मिनेटमा पुगेको थियो,’ उनले भने। उनका अनुसार भीमसेनथानमा आगो नियन्त्रण गर्न छवटा दमकल प्रयोग गरिएको थियो।

ठूलो दमकल, सानो बाटो, पीडितको पुनःस्थापना खै?

महानगरसँग भएको दमकल पर्याप्त रहेको बताउँदै विपद् व्यवस्थापन महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले चुनौती भनेको साँघुरा गल्लीभित्र दमकल लैजानु र राख्नु रहेको बताए। 

‘हामीसँग पाँचवटा दमकल छन्, त्यो भन्दा धेरै कति हुन्छ र? समस्या दमकलको होइन, प्रयोग गर्ने ठाउँको हो। त्यहाँ ट्राफिकको समस्या हुने गरेको मात्र हो,’ उनले भने।

तत्कालका लागि त्रिपाल र केही खाद्यान्न वितरणबाहेक क्षतिपूर्तिको व्यवस्था महानगरसँग नभएको जोशीले स्पष्ट पारे।

भीमसेनथानका वडाध्यक्षबाहेक अन्य कुनै पनि महानगरका पदाधिकारी आगलागीको स्थलमा पुगेका थिएनन्। आगलागी कसरी भयो, कति क्षति भयो, अब के गर्ने भन्ने बुझ्न कोही नआएको स्थानीयले बताएका छन्। मखनमा भएको आगलागीको बेला भने उपमेयर सुनिता डंगोल घटनास्थल पुगेकी थिइन्।

त्यसबेला उनले यस्ता घटनाको जोखिम घटाउने पूर्वतयारी, नियन्त्रण, उद्धार, राहत र पुनःस्थापनाबारे अध्ययन गर्न समिति बनाउन निर्देशन दिएकी थिइन्। तर त्यो समिति आजसम्म बनेको छैन।

मखन वडा नं. २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले पनि उक्त घटनाको छानबिन समिति नबनेको पुष्टि गरे। ‘म र उपमेयर दुवै घटनास्थलमा पुगेका थियौं। त्यसबेला ग्याँस कम्पनीले जवाफ दिनुपर्छ भनेर नै कुरा गरेका थियौं, तर त्यसपछि त्यो घटना त्यत्तिकै रह्यो,’ उनले भने।

घटना घटेको पाँच महिना बितिसक्दा पनि मखन आगलागीको पूर्ण क्षतिको विवरण आइसकेको छैन। ‘आगलागी पीडितका लागि क्षतिपूर्ति दिने व्यवस्था नै रहेनछ, त्यो बिडम्बना हो। अघिल्लो वर्ष पनि हाम्रो वडामा आठवटा घर जलेका थिए। महानगर वा केन्द्रीय सरकारले केही गर्छ कि भनेर मैले पूर्ण विवरण संकलन गरी विपद् व्यवस्थापनमा पठाएको थिएँ, तर केही पनि भएन। म पो लाचार भएँ,’ उनले दुखेसो पोखे।

व्यापारिक क्षेत्र भएकाले यहाँका अधिकांश घर डेरामा बस्नेहरूले सम्हाल्ने गरेको र घरधनीहरू घरभाडा उठाउन मात्र आउने गरेको पनि उनले बताए। एक-दुई कोठामा केही महिनाको लागि मात्र बस्ने भएकाले घरभाडा सम्झौता नगरी बस्ने प्रायः व्यक्तिहरूको विवरण वडामा नहुने उनको भनाइ छ।

डेरामा बस्ने भएकाले जति क्षति भए पनि पीडितहरू अन्य ठाउँमा डेरा खोजेर बस्नेबाहेक विकल्प रहँदैन।

महानगरका अनुसार अहिले पूर्ण क्षमतामा काम गर्नसक्ने पाँचवटा दमकल छन्। न्युरोडमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ। त्यसबाहेक बालाजुमा दुईटा र रामहिटीमा एउटा दमकल छन्। यसैगरी आठवटा फायर मोटरसाइकल सञ्चालनमा छन्। दमकलमा पानी थप्नका लागि एउटा पानी ट्याङ्कर पनि रहेको महानगरले जनाएको छ।

असोज २९, २०८२ बुधबार १८:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।