प्रधानमन्त्री कार्की र बेलायती राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा नेपाल-बेलायत सम्बन्ध, आगामी निर्वाचन र सुशासनलगायत विषयमा विचार-विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले वर्तमान असामान्य राजनीतिक परिस्थितिमा बनेको सरकारको मुख्य प्राथमिकता सुशासन र समयमै स्वच्छ तथा भयरहित निर्वाचन सम्पन्न गर्नु रहेको बताइन्। उनले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउने सरकारको दृढ प्रतिबद्धता रहेको बताइन्।

दुवै पक्षबीच नेपाल र बेलायतबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउने विषयमा पनि चर्चा भएको थियो।

बेलायती राजदूत फेनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आसन्न निर्वाचन सम्पन्न गर्न बेलायत सरकार आवश्यक सहयोगका लागि तयार रहेको आश्वासन दिए।

असोज २९, २०८२ बुधबार १६:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।