सभामुख घिमिरे र दलका प्रतिनिधिबीच सिंहदरबारमा राजनीतिक परिस्थितिबारे छलफल

काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी कदमबारे विभिन्न दलका प्रतिनिधिहरूसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गरेका छन्।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा प्रस्तुत गरेका थिए। सभामुख घिमिरेले संविधान र लोकतन्त्रको रक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै त्यसका लागि सबै दलको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस सधैं लोकतान्त्रिक पथमा रहने बताए। उनले भने, “प्रतिनिधिसभा विघटनको संवैधानिकता सर्वोच्च अदालतले व्याख्या गर्छ। त्यसपछि जे निष्कर्ष आउँछ, कांग्रेस त्यसैअनुसार अघि बढ्नेछ। निर्वाचनबाट पछि हट्ने प्रश्नै छैन।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन प्रमुख सचेतक महेशकुमार बर्तौलाले पनि संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतकै निर्णय प्रतीक्षा गर्नुपर्ने धारणा राखे। उनले जेनजी आन्दोलनका क्रममा उठेका केही जायज माग संसद्मार्फत सम्बोधन गर्न सकिने र नयाँ जनादेशबाट मुलुकलाई अघि बढाउन सकिने बताए।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण निर्माण गरेमा आफ्नो पार्टी निर्वाचनमा जाने तयारीमा रहेको जानकारी दिए। उनले निर्वाचन नै वर्तमान राजनीतिक संकटको समाधान हुने विश्वास व्यक्त गरे।
छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अधिकांश दलका तत्कालीन प्रमुख सचेतक र सचेतकहरूको उपस्थिति रहेको सभामुख सचिवालयले जनाएको छ।
असोज २९, २०८२ बुधबार १४:३७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।