‘काठमाडौंले मलाई रिचार्ज गर्छ, कालेबुङले कथा दिन्छ’

‘काठमाडौंले मलाई रिचार्ज गर्छ, कालेबुङले कथा दिन्छ’

काठमाडौं : नेपाली भाषाको फैलावट भारतका विभिन्न राज्यमा छ। भुटानदेखि म्यानमारसम्म पनि नेपाली भाषीहरू छन्। नेपाली साहित्यमा दार्जिलिङ र त्यस वरपरका क्षेत्रका नेपाली भाषी भारतीयहरूले उल्लेखनीय योगदान गरेका छन्।

नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र आउनुअघि नेपाली भाषा साहित्यमा नेपालभन्दा बाहिर, विशेषगरी दार्जिलिङका स्रष्टाहरूको बलियो पकड थियो। दार्जिलिङबाट उदाएका नेपाली भाषी लेखकहरूको एकताका दबदबा नै थियो।

नेपालमा नेपाली भाषी साहित्यकारहरू बढ्दै जानु र विश्वभर अंग्रेजी भाषाको प्रभाव विस्तार हुनुजस्ता कारणले अहिले नेपाल बाहिरका नेपाली भाषी स्रष्टाहरूको सिर्जनाको पहिलेको जस्तो दबदबा छैन। तर, भारतको कालेबुङमा जन्मिएका छुदेन काबिमो एक अपवाद लेखकका रूपमा उदाएका छन्।

आफ्नो पहिलो उपन्यास ‘फातसुङ’मा गोर्खाल्यान्ड राज्यका लागि भएको सङ्घर्ष लेखेका उनले ‘उरमाल’मा चिया बगानका श्रमिकबारे लेखेका छन्। आफ्नो उपन्यासमा नेपाली भाषीको सङ्घर्ष र दार्जिलिङे शैली मिसाएका उनको यो उपन्यासले नेपाली भाषीका लागि प्रतिष्ठित ‘मदन पुरस्कार २०८१’ जित्यो।

पुरस्कार ग्रहण गर्न नेपाल आएका काबिमोसँग उकेराकर्मी प्रजु पन्तले पुरस्कार ग्रहण गर्दाको क्षण र भारतीय बजारमा नेपाली साहित्यबारे गरेको कुराकानीको सम्पादित अंश:

आराम हुनुहुन्छ?
हजुर, आरामै छु।

कसरी आइपुग्नुभयो काठमाडौं?
झापासम्म बसमा आएँ, त्यसपछि प्लेनमा।

काठमाडौं आउँदा तपाईंलाई कस्तो महसुस हुन्छ?
उकुसमुकुस भएको छ भने काठमाडौं आउँदा ऊर्जावान् भएको महसुस गर्छु। अहिले पनि तरोताजा भइसकेको महसुस भइरहेको छ।

तपाईंको ‘उरमाल’ दोस्रो उपन्यास हो। ‘फातसुङ’ राजनीतिक र ‘उरमाल’ सामाजिक उपन्यास हुन्। स्वाभाविक रूपमा राजनीति सबैको चासोको विषय हुन्छ, ‘फातसुङ’को तुलनामा ‘उरमाल’को प्रतिक्रिया कस्तो पाउनुभयो?
प्रकाशक अजित बरालले राजनीतिक किताब धेरैले रूचाउँदैनन् भन्नुभएको थियो, तर ‘फातसुङ’को सवालमा उल्टो भइदियो। ‘फातसुङ’ले गैरआख्यानले जस्तै राजनीतिक वृत्तमा चर्चा पायो। म केमा सचेत थिएँ भने एउटै विषयलाई फरक उपन्यासमा राख्नु हुँदैन, त्यसैले मैले ‘उरमाल’मा राजनीतिक विषयवस्तु राख्दिनँ भन्ने सोचेको थिएँ। तर, अध्ययन गर्न फिल्डमा जाँदा सामाजिक उपन्यासमा पनि केही न केही राजनीतिले छुने नै भयो।

सामाजिक मुद्दा प्रमुख भए तापनि सहायक रूपमा राजनीति आयो। यसमा पाठकहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। पहिलो उपन्यासमा महिला पात्र कम भए भन्ने प्रतिक्रिया आएको थियो, यसमा महिला पात्र नै प्रमुख भएकाले त्यस्तो आलोचना सुन्नु परेन। पृष्ठका हिसाबले अलि ठूलो भएकाले केही ढिलो तर सकारात्मक प्रतिक्रिया पाइरहेको थिएँ।

मदन पुरस्कार जित्छु भन्ने लागेको थियो?
त्यस्तो त लागेको थिएन। तर नेपाली साहित्यमा नेपाल बाहिरका लागि समेत शक्तिशाली पुरस्कार रहेको मदन पुरस्कार पाइदिए हुन्थ्यो भन्ने त जुनसुकै लेखकलाई लाग्नु स्वाभाविक नै हो। सर्टलिस्टमा पर्दा समेत जित्छु जस्तो लागेको थिएन। तर यहाँका पाठकहरूले अनुमान गर्न सक्दा रहेछन्।

इलामका एक पाठक कुमारजीले मलाई म्यासेजमा भन्नुभएको थियो, ‘तपाईंको पुस्तकले मदन पुरस्कार जित्न सक्छ।’ त्यस्तै कवि विनोदविक्रम केसीले समेत भन्नुभएको थियो। यो सुन्दा रमाइलो लागेको थियो, तर जित्छु नै भन्ने पक्काचाहिँ थिएन।

मदन पुरस्कार जितेको थाहा पाउँदा कस्तो महसुस भयो?
यो मेरो लेखन यात्राको सबैभन्दा सुन्दर क्षण हो। उसो त मेरो पहिलो किताबले भारतको प्रतिष्ठित पुरस्कार पनि जितेको हो। त्यो दिन म कालेबुङमै महानन्दा नदी किनारमा साइकल लिएर साथीसँग गफ गर्न गएको थिएँ।

मेरा सम्पादक अजित बरालले फोन गरेर ‘उरमाल’ले मदन पुरस्कार प्राप्त गरेको सुनाउनुभयो। त्यसपछि साथीभाइको बधाईको ओइरो लाग्न थाल्यो। फोनमा मात्रै लगभग तीन घण्टा लगातार बधाई आइरह्यो। सामाजिक सञ्जालमा पनि उस्तै थियो। लाग्यो, लेखनमा नलागेको भए सायद म यो खुसी पाउँदिनथेँ।

उपन्यासको कुरा गरौँ, तपाईंले ‘उरमाल’मा कथा, उपकथा र मिथकहरू पनि जोड्नुभएको छ। अनुसन्धान कसरी गर्नुभयो? अलिकति पृष्ठभूमि बताइदिनुस् न!
मेरा उपन्यासहरू केवल कल्पनामा मात्र आधारित हुँदैनन्। म यथार्थ विषयवस्तुलाई औपन्यासिक शैलीमा लेख्छु। ‘फातसुङ’ लेखेपछि म नयाँ कथाको खोजीमा थिएँ। यही कथा लेख्छु भन्ने निश्चित थिएन।

डुवर्स पुग्दा मलाई केही कुराले छोयो। त्यहाँको दुःख नजिकबाट बुझ्न पाएँ। त्यहाँका चिया बगानका श्रमिकहरूसँग कुरा गर्न थालेपछि त्यहाँको कथाले मलाई तान्दै लग्यो। उपन्यासका कतिपय पात्रहरू त्यहीँका वास्तविक व्यक्तिहरू हुन्।

चिया बगान धानेका महिलाहरूलाई म सोध्थेँ, ‘नाम लेख्न आउँछ?’ उहाँहरू भन्नुहुन्थ्यो, ‘हामी त ठेँगे (औंठाछाप लगाउने) हौँ।’ उहाँहरूमा अथाह सङ्घर्ष थियो। मैले यो कथा लेख्नुपर्छ भन्ने लाग्यो। पटक-पटक त्यस ठाउँमा गएँ, कुराकानी गरेँ, अनि उपन्यासमा कथा, उपकथा र मिथकहरू थपिँदै गए।

मिथकहरू जोड्नुपर्छ भन्ने कसरी लाग्यो?
मिथकहरू जीवनसँग जोडिएका हुन्छन्। जीवनको अध्ययन गर्दा मिथकहरू पनि आउनुपर्छ भन्ने लाग्यो, अनि मैले संस्कृतिसम्बन्धी कुरामा मिथकहरू राखेँ। उपन्यास भनेको एउटा घर हो भने कथा त्यसका कोठाहरू हुन्। जसरी घरलाई सुन्दर बनाउन बगैँचा, धेरै कोठा र सजावट चाहिन्छ, उपन्यासमा पनि त्यस्तै कुरा चाहिन्छ। त्यसकारण मिथकहरूको प्रयोग गर्नैपर्ने भयो।

तपाईंले पात्रहरूमार्फत पाठकलाई उपन्यासमा फनफनी घुमाउनुहुन्छ। कथाचाहिँ कसरी सोच्नुहुन्छ?
(हाँस्दै)... त्यो त घुमाउनै पर्यो नि! म प्रायः गाडीमा हिँड्दा अन्तिम सिटमा बस्छु। सार्वजनिक यातायात नै चढ्छु। त्यतिबेला कथाका प्लटहरू सोचेको हुन्छु, अनि बिहान लेख्छु। कथा पुगेन जस्तो लाग्यो भने अध्ययन गरेका पात्रहरूसँग फेरि भेट्छु।

तपाईंका उपन्यासमा दलबहादुर र शिवराजजस्ता पात्र छन्, कसरी चयन गर्नुभयो?
दलबहादुर एक सत्य पात्र हुन्, शिवराज आफैँमा एक पात्र हुन्। यसरी समाजका अनेक मान्छे भेट्दै जाँदा नयाँ-नयाँ पात्र बन्दै जान्छन्। अनेकौँ पात्रको मिलन नै त उपन्यास बन्ने हो।

उपन्यासमा वास्तविक पात्र छन् भन्नुभयो। तपाईंको अध्ययन पनि धेरै पटक भयो। गैरआख्यान किन नलेखौँ भन्ने लागेन?
लागेन। किनभने उपन्यासमा सीमित घेरामा बाँधिनु पर्दैन, तर गैरआख्यानमा उस्तै परे एउटै पात्रमा बाँधिनुपर्छ।

म लेखनमा स्वतन्त्र चराजस्तो उड्न पाइयोस् र नदीले जस्तै आफैँ बाटो बनाउँदै बग्न पाइयोस् भन्ने चाहन्छु। त्यसकारण पनि उपन्यास नै लेख्नुपर्छ भन्ने लागिरह्यो। ‘फातसुङ’का कारण मलाई यस पुस्तकका लागि अध्ययन गर्न सजिलो भयो। पात्रहरूसँग कुराकानी गर्न उहाँहरूले सजिलै समय दिनुभयो।

अनि लेख्दाखेरि कसरी लेख्नुभयो त?
धेरै पात्रको कथा सुनेपछि कसरी लेख्ने भन्ने समस्या सबैलाई हुन्छ। म चाहिँ जुन दिन कथा सुन्थेँ, भोलिपल्ट बिहानै लेखिहाल्थेँ। यसरी लेख्दा पात्रहरूको फरकपन देखिन्छ र अर्को कथाले प्रभावित पनि हुँदैन। जे मन पर्छ, त्यो लेखिहाल्ने। मेरो लेखाइ नदीजस्तै हो, बग्दै-बग्दै आफैँ बाटो बनाउँदै जान्छ।

शुरूवातमा तपाईंले राजनीति नजोडियोस् भन्नेमा सचेत थिएँ भन्नुभयो, तर दलबहादुरमार्फत राजनीति त आयो है!
हो, आयो। दलबहादुर वास्तविक पात्र हुन्। उनलाई ढाँट्नु छैन, चौकी जानु छैन, तर जातका लागि उनी भिडिहाल्छन्। सामाजिक कथावस्तु लेखेपछि राजनीतिले छोड्दो रहेनछ, अनि उपन्यासमा आउने नै भयो।

भारतमा नेपाली भाषीको साहित्यबारे कुरा गरौँ। कुनै समय नेपाली भाषी भारतीय लेखकको दबदबा थियो, त्यो समय अहिले छैन हो?
सन् १९६० को दशकतिर धेरै नै थियो। अहिले कम भएको अवश्य हो, तर हुँदै नभएको होइन। साहित्यिक किताबहरू आइरहेका छन्, तर सिमाना तोडेर आउन घटेको हो।

किन यस्तो भयो होला?
त्यो बेला नेपाली समाज बल्ल खुला भएको थियो। यसका राजनीतिक-सामाजिक कारणहरू छन्। नेपालमा जति वैचारिक स्वतन्त्रता बढ्दै गयो, त्यति नै आख्यान तथा गैरआख्यान पुस्तकहरू बढ्दै गए। सन् २००७ पछि त नेपालमा किताब प्रकाशनमा क्रान्ति नै भयो। पहिले दार्जिलिङतिरका नेपाली साहित्यबाट यता सिकिन्थ्यो, अहिले नेपालबाट उता सिक्ने काम भइरहेको छ।

भारतमा नेपाली साहित्यका किताब कत्तिको पाइन्छन्?
पाइन्छ। यहाँबाट जाने किताबमा भने समस्या छ। सिमानामा लैजान समस्या हुन्छ। अहिले दिल्लीमा छापिने हुनाले त्यतैबाट सीधै जान्छ।

किन यस्तो भएको होला?
केही राजनीतिक कारण होला। सरकारसँगको कुरा पनि होला।

नेपाल सरकारले पहल गरेको देखिँदैन?
यसबारे मलाई थाहा भएन।

पहिले दार्जिलिङ, सिक्किम नेपाली साहित्यका लागि उर्वर मानिन्थ्यो। अहिले पनि उस्तै छ कि?
घटेको अवश्य हो, तर अहिले पनि उर्वर नै छ। साहित्यिक जमघटहरू भइरहेका छन्। नेपाली भाषाका पुस्तक पढ्न युवाहरूले मोबाइल बाहिरै राखेर क्याफेमा बहस चलाइरहेको पनि पाइन्छ।

नेपालले सिमापारिको नेपाली भाषाको सिर्जनालाई महत्त्व नदिएको हो कि?
काठमाडौंले महत्त्व नदिएको भन्ने थियो, तर त्यो होइन। हामीले आफ्नो कमजोरी पनि हेर्नुपर्छ। पहिलेको तुलनामा हामी नेपाली भाषी लेखकहरू अझै सशक्त भएर आउनुपर्छ भन्ने मलाई लाग्छ।

विषयवस्तु उठानमा शक्तिशाली भएन भन्नुभएको?
हामीले एउटै विषयवस्तुभन्दा पनि फरक-फरक विषय उठाउनुपर्छ। हामीले पलायन र बेरोजगारीका कुराहरू लेख्न सकिरहेका छैनौँ।

नेपालमा पनि अंग्रेजी पढ्न खोज्ने, नेपाली नपढ्नेहरू छन्, त्यता के छ?
ठाउँअनुसार फरक-फरक छ। हो, त्यता पनि अंग्रेजीमा पढ्ने युवाहरू अवश्य बढेका हुन्, तर उनीहरूले नेपाली पनि पढ्नुपर्छ भनेर पढिरहेका पनि हुन्छन्।

तपाईंको पठनको कुरा गरौँ, नेपाली साहित्यसँग कहिलेदेखि साक्षात्कार गर्नुभयो?
यही समय भन्ने त थाहा छैन। तर मैले शुरूवातमा अनुवादका कथाहरू पढेँ। लियो टल्सटोय र एन्टोन चेखभका कथाहरू नेपालीमा अनूदित भएका पढेँ। यसरी पढिन्थ्यो कि पढ्न पाइनँ भने ममा छटपटी हुन्थ्यो। कुनै नयाँ कथा भेटिनँ भने पुराना कथाहरू नै दोहोर्याएर पढिहाल्थेँ।

अहिले कस्ता किताब पढ्नुहुन्छ?
उपन्यास त प्रायः पढ्छु। त्यसमाथि आख्यान लेख्नेले गैरआख्यान धेरै पढ्नुपर्ने हुनाले आवश्यकताअनुसार पढिरहेको हुन्छु।

कुन विषयमा लेखिए हुन्थ्यो जस्तो लाग्छ?
नदीहरू, चराहरू, जनावरहरूबारे हामीले लेख्नै बाँकी छ।

अबको तपाईंको विषय के हुन्छ?
यो सालचाहिँ पढ्ने, अर्को साल अध्ययन गर्ने, अनि मात्र लेख्ने योजना छ। पढ्ने कामलाई नै केन्द्रमा राखेर नयाँ विषय ल्याउने भरसक कोसिस गर्नेछु।

तपाईंको लागि लेखाइ के हो?
नयाँ कुरा बुझ्ने अभियान हो, जीवन बुझ्ने चाहना पनि हो। लेख्दै जाँदा मैले नयाँ-नयाँ कुरा सिकिरहेको हुन्छु। पहिले कथा भन्नु मात्रै थियो, अब कथा कसरी भन्ने भन्ने चुनौती छ। राम्रोसँग कथा भन्न नसके कसैले पढ्दैन। त्यसकारण, कथा भन्न जान्नुपर्छ।

अन्त्यमा, काठमाडौं तपाईंका लागि के हो?
यहाँ आएपछि म रिचार्ज हुन्छु। मलाई नयाँ मान्छे बनाइदिने ठाउँ हो काठमाडौं। म रूखो भएको हुन्छु, काठमाडौं आएपछि म उर्वर हुन्छु। मेरो लागि काठमाडौंले वसन्त ल्याइदिन्छ।

असोज २९, २०८२ बुधबार १६:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।