जेन-जीको आक्रोशले खरानी बनेको गृह मन्त्रालय, नागरिकतादेखि सुरक्षाको महत्वपूर्ण अभिलेख ध्वस्त

जेन-जीको आक्रोशले खरानी बनेको गृह मन्त्रालय, नागरिकतादेखि सुरक्षाको महत्वपूर्ण अभिलेख ध्वस्त

काठमाडौं : भवनको पहिलो र दोस्रो तला जलेर पुरै ध्वस्त छ,  एकातिर जलेका फाइल र फर्निचरको खरानीको थुप्रो। मन्त्री, गृह सचिवको कार्यकक्ष जलेर खरानी बन्यो। नागरिकता, आर्थिक प्रशासन लगायतका महत्त्वपूर्ण फाइलहरू रहेको कोठाका कुनै सामग्री सद्दे छैन।

देशको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको सिंहदरबारभित्रको गृह मन्त्रालयको कार्यालय जेन-जी पुस्ताको आन्दोलनको दोस्रो दिन आगो झोस्दा महत्त्वपूर्ण कागजपत्रहरू नै जलेर नष्ट भए। सबैभन्दा गम्भीर पक्ष देशभरको नागरिकतासहित सुरक्षासम्बन्धी महत्वपूर्ण अभिलेखहरूसमेत खरानी भए।

देशभर जारी भएको नागरिकताको प्रिन्ट र डिजिटल दुवै अभिलेख थियो मन्त्रालयमा। तर न प्रिन्टमा राखिएको अभिलेख जोगियो न त डिजिटल कपी नै जोगिएका छन्। महत्वपूर्ण अभिलेखहरूको डिजिटल कपी रहेका हार्डडिक्सहरु समेत फेला परेको छैन।

देशभरको अभिलेख रहेको गृहसँगै काठमाडौं लगायतका केही जिल्लाका जिल्ला प्रशासन कार्यालयमा समेत आगो लगाइएकाले त्यहाँ रहेका नागरिकतासहितका महत्त्वपूर्ण अभिलेखहरू समेत नष्ट भएका छन्। यसले नयाँ नागरिकता जारी गर्नेसँगै पुरानो नागरिकता अद्यावधि गर्ने, नक्कल निकाल्ने, नागरिकता सक्कली हो या नक्कली हो भन्ने पुष्टि गर्ने प्रमाणहरू नै नष्ट भएका छन्।  

“मन्त्रीज्यू र सचिवज्यूको कार्यकक्ष पुरै जलेकाले महत्त्वपूर्ण सामग्रीहरू नष्ट भएका छन्,” मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले उकेरासँग भने “मुख्य रूपमा नागरिकताको प्रिन्ट र डिजिटल दुवै रेकर्ड नष्ट भएका छन्। आर्थिक प्रशासनको अवस्था पनि उस्तै छ। अहिले हामी के-के सामग्री जोगिएका छन् त्यसकै अभिलेख तयार गरिरहेका छौँ।”

आचार्यका अनुसार गृह सचिवको कार्यकक्षमा रहेको महत्त्वपूर्ण फाइलसँगै राहत विवरण, आर्थिक प्रशासन र शान्ति सुरक्षा महाशाखामा रहेका अभिलेखहरू समेत जलेका छन्। सुरक्षा र सुरक्षा संगठनसँग सम्बन्धित महत्वपूर्ण अभिलेख समेत जलेका छन्। गृहमा विभिन्न समयमा बनेका महत्त्वपूर्ण आयोग र समितिहरूका महत्त्वपूर्ण प्रतिवेदनहरू थिए। त्यसको अवस्था समेत एकिन हुन सकेको देखिएन।

आक्रोशको आवरणमा नियोजित आक्रमण
नयाँबानेश्वरमा भदौ २३ को आन्दोलनमा गोली चल्दा प्रदर्शनकारी मारिएको विरोधमा सुरु भएको प्रदर्शन दोस्रो दिन विध्वंसमा बदलिँदा सडकमा सुरु भएको आगोको लप्का गृह मन्त्रालयको कार्यालयसम्म पुगेको थियो। संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन र मन्त्रीहरूको सरकारी निवास जलाएसँगै नेपाली सेनाको सुरक्षा घेरामा रहेको सिंहदरबारभित्र रहेका प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयहरूसम्म सहजै पुगेको समूहले त्यता पनि आगो झोसे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र सिंहदरबार परिसर बाहिरको स्वास्थ्य मन्त्रालय जलाएर पूर्णपुरमा ध्वस्त पार्दा देशभरको सुरक्षाको प्रबन्ध गर्ने गृह मन्त्रालय समेत जोगिएन। गृहका जुन जुन स्थानमा आक्रमण र आगजनी गरियो ती अति महत्वका सामग्री र अभिलेख रहेका महाशाखाहरू देखियो।

देशको आन्तरिक सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सामग्री रहेका, आर्थिक विवरणहरू रहेका अनि नागरिकता लगायतका महत्त्वपूर्ण दस्ताबेजहरू रहेको ठाउँ आगो झोस्नेहरूको मुख्य निशानामा परेको देखियो। यसले यो आक्रोशको भन्दा पनि नियोजित योजना अनुसार देशको महत्त्वपूर्ण तथ्याङ्क र सामग्रीहरू नष्ट गर्न आगो झोसिएको देखियो।

“अभिलेख व्यवस्थापनका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ। अहिले हामी नष्ट भएका अभिलेखहरू कसरी अद्यावधि गर्न सकिन्छ भन्ने पक्षमा काम गरिरहेका छौँ” आचार्यले उकेरासँग भने।

टार्गेटमा प्रधानमन्त्री कार्यालय र गृह
सिंहदरबारभित्रको ऊर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायत अन्य भवनमा आंशिक क्षति पुग्दा सुरक्षा सम्बन्धी अति संवेदनशील दस्ताबेजहरू रहेको गृह मन्त्रालय भने पुरै खरानी हुनेगरि जलाइयो ।

आन्दोलनको एक महिनापछि आगो झोसिएका  धेरैजसो मन्त्रालयका भवन मर्मत र रङरोगन गरेर दैनिक प्रशासनिक सुरु भइसकेको छ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जस्तै प्रयोग गर्नै नसकिने अवस्थामा पुगेको गृह मन्त्रालयको अवस्था भने मंगलबार पनि उस्तै देखियो।

भवनको बाहिर रङरोगन गरेर झोसिएको आगोको निशाना मेटाउने प्रयास भइरहेको थियो। तर भवन भित्र जलाएका सामान उस्तै थिए।

भवनभित्र मन्त्रालयका कागजपत्रहरू जलाएकै अवस्थामा असरल्ल झरिएका थिए। काम लाग्ने अवस्थामा रहेको कागजपत्रहरू निकालेर अर्को भवनमा लैजान कर्मचारीहरू खटिइरहेका देखिए।

मन्त्रालयको केही कोठा जल्नबाट जोगिएका थिए। त्यही कोठामा बसेर मन्त्रालयका कर्मचारी दैनिक प्रशासनिक काम गरिरहेका देखिए।

के-के जल्यो?
भवनको पहिलो तलामा रहेको गृहमन्त्रीको कार्यकक्ष भएको क्षेत्र पुरै जलेको देखियो। मन्त्रालयको पहिलो तला कुनै सामग्री जोगिन नसक्नेगरि जलाइयो। गृह सचिवको कार्यकक्षको अवस्था पनि उस्तै छ। दोस्रो तलामा रहेका कार्यालयका कोठा र नागरिकता अनि सुरक्षा रणनीतिसँग जोडिने महत्वपूर्ण अभिलेखहरू समेत जलेर खरानी भएको देखियो।  

भवनको अधिकांश भाग कामै नलाग्नेगरि जलेकाले अहिले गृह मन्त्रालय सामान्य प्रशासन मन्त्रालयको पुरानो भवनमा सारिएको छ।  मन्त्रीदेखि सचिवसम्म अहिले सामान्यको त्यही पुरानो भवनमा बसेर काम गरिरहेका छन्।

असोज २९, २०८२ बुधबार १३:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।