देश प्रतिक्रान्तितर्फ धकेलियो, राम्रा नीतिले गर्दा एमालेमाथि प्रहार भयो : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको र बर्बादीको बाटोमा लागेको बताएका छन्।
बुधबार ललितपुरको भनिमण्डलमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थालाई रोक्न नसके देश संकटमा फस्ने चेतावनी दिएका हुन् ।
‘यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौँ भने देश त्यतातिर (प्रतिक्रान्ति) धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ,’ ओलीले भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ।’
उनले हालैको ‘जेन-जी’ आन्दोलनप्रति संकेत गर्दै त्यस्ता घटनाहरू आकस्मिक नभई लामो प्रयासपछि भएको दाबी गरे।
‘यत्रो घटनाको कसरी थाहा भएन भन्नुहुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त,’ उनले भने, ‘विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन। राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो, तर सकिएन।’
उनले लोकतन्त्रको रक्षा जनताले नै गर्नुपर्ने बताउँदै भने, ‘लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन्। जनताले नै बचाउने हुन्।’
‘राम्रो काम गरेकैले निशानामा परियो, सरकारबाट सधैँका लागि हटेको भ्रम नपाल्नु’
अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी प्रहार हुनुको कारण नराम्रा काम नभई राम्रा नीति र राष्ट्रहितमा लिएको अडान भएको दाबी गरे।
‘हाम्रा नीतिहरू राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ,’ उनले भने, ‘राष्ट्रिय हित र न्यायको पक्षमा छौँ। राष्ट्रिय सार्वभौमिकताको अडान लिएका छौँ, यी कुराहरू धेरैलाई मन परेको छैन।’
उनले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दैमा सधैँका लागि बाहिरियो भनेर भ्रममा नपर्न चेतावनी दिए।
‘एकछिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ,’ उनले भने, ‘देशका लागि नेकपा एमाले चाहिन्छ।’
ओलीले सरकारमा हुँदा पार्टीभित्रैबाट असहयोग र खुट्टा तान्ने काम भएको गुनासो दोहोर्याए। उनले आफ्नो नेतृत्वको सरकारले तराई-मधेसमा हुलाकी राजमार्गदेखि बेनी-जोमसोम-कोरला नाका निर्माण जस्ता महत्त्वपूर्ण काम थाले पनि पार्टीभित्रैबाट असफल बनाउने प्रयास भएको दाबी गरे।
‘पार्टीमा एकमनाको स्थिति कहिल्यै रहेन। पार्टीमा खुट्टा तान्ने र कसरी हुन्छ असफल बनाउनुपर्छ भन्ने स्थिति भयो’, उनले भने, ‘तर यस्तो काम कसले गर्यो भन्नेबारे भने उनले खुलाएनन्।’
जेन-जी आन्दोलनपछि अध्यक्ष ओली पहिलो पटक निवासबाट बाहिर निस्केर बैठकमा सहभागी भएका हुन्।
बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। केन्द्रीय कमिटीले सचिवालयले सिफारिस गरेको मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरी मिति तोक्नेछ।
असोज २९, २०८२ बुधबार १३:१२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।