ताहाचलको गोदामबाट ठूलो परिमाणमा पटकासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको ताहाचलबाट ठूलो परिमाणमा अवैध पटकासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनको साथबाट नेपाली तथा भारतीय नगद समेत बरामद भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१३ बस्ने ४८ वर्षीय सुनिल कुमारलाई सोमबार दिउँसो पक्राउ गरेको हो। उनी भारतको चुरू, राजस्थानका स्थायी बासिन्दा हुन्।
प्रहरीले ताहाचलस्थित उनले भाडामा लिएर सञ्चालन गरेको गोदाममा छापा मार्दा १ हजार २७१ प्याकेट विभिन्न प्रकारका पटका तथा आतिसबाजी फेला पारेको थियो।
गोदामबाट २ लाख नेपाली रुपैयाँ र २५ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ।
पक्राउ परेका कुमारलाई विष्फोटक पदार्थ र राजस्व छली सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।
असोज २९, २०८२ बुधबार १२:०२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।