पाँच दिनदेखि किन बन्द छ बालाजु-बाइपास सडक? शुक्रबारसम्म पिच गरिसक्ने

पाँच दिनदेखि किन बन्द छ बालाजु-बाइपास सडक? शुक्रबारसम्म पिच गरिसक्ने

काठमाडौं : काठमाडौंको बालाजु बाइपासस्थित करिब २०० मिटर सडकखण्ड विगत पाँच दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ।

सडक स्तरोन्नतिको काम अलपत्र पर्दा उडेको धुलोले स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्, तर यो अवरोधको पछाडि एक दशक पुरानो मुआब्जा विवादको लामो कथा लुकेको छ।

वर्षा सकिएसँगै सडक डिभिजन कार्यालयले ग्राभेल हालेर छाडेको सडकबाट उडेको धुलोले स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ।

‘पाँच महिनादेखि हामीले धैर्य गर्यौँ, तर हाम्रो मौनतालाई कमजोरी ठानियो,’ एक स्थानीयले भने, ‘ग्राभेलबाट उडेको धुलोले हामी बिरामी परिसक्यौँ। जबसम्म यो सडक पिच हुँदैन, तबसम्म हामी खुल्न दिँदैनौँ।’

सडक अवरुद्ध हुँदा बालाजु आउने सवारी साधनहरू माछापोखरी हुँदै घुम्नुपर्दा त्यस क्षेत्रमा ट्राफिक जामको समस्या बढेको छ।

के हो दशक पुरानो विवाद?
यो सडक अवरोधको जड २०७० सालमा सडक विस्तार गर्दाको मुआब्जा विवादसँग जोडिएको छ। सडक विस्तारका क्रममा हटाइएका सुकुम्बासी तथा स्थानीय बासिन्दाले उचित मुआब्जा नपाएको भन्दै पटक-पटक सडक निर्माणमा अवरोध गर्दै आएका थिए।

सडक डिभिजन कार्यालय, काठमाडौंका सूचना अधिकारी इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार विवादकै कारण उनीहरूले काम गर्न सकेनन्।

‘विगतमा हामी खाल्डाखुल्डी पुर्न जाँदा पनि स्थानीयले हाम्रो गाडी फिर्ता पठाइदिए,’ फुयाँलले उकेरासँग भने, ‘समस्या यति जटिल थियो कि राति काम गर्न खोज्दा पनि अवरोध भयो।’

काठमाडौं महानगरपालिका वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठका अनुसार विवाद सडकको दुवैतर्फका स्थानीयबीच पनि थियो।

‘पहिले हटाइएकाहरूले मुआब्जा र बसोबासको माग गरेका थिए,’ उनले उकेरालाई भनिन्, ‘लामो छलफलपछि दुवै पक्षबीच सहमति जुटेको छ।’

स्थानीय विवादका कारण सडक डिभिजनले काम गर्न नसकेपछि सहमतिमा उक्त सडक स्तरोन्नतिको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको छ। महानगरको सार्वजनिक निर्माण विभागले अहिले काम अघि बढाएको छ।

विभागका प्रमुख सुरेश कुमार राईका अनुसार, सडक कालोपत्रे (पिच) गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

‘हामीले गत शनिबार नै पिचका लागि आवश्यक बेस राख्यौँ,’ राईले उकेरासँग भने, ‘त्यो बेस सुक्न र सेट हुन कम्तीमा ५-७ दिन लाग्छ। गुणस्तरका लागि केही समय सडक बन्द राख्नु प्राविधिक आवश्यकता हो।’

स्थानीयले धुलो उडेको गुनासो गरेपछि सडक बन्द गरेको भए पनि अहिलेको बन्द प्राविधिक कारणले पनि भएको उनको भनाइ छ।

महानगरका अनुसार अबको केही दिनभित्रै सडक सञ्चालनमा आउनेछ।

‘हाम्रो योजनाअनुसार शुक्रबारसम्ममा पिचको काम सम्पन्न हुन्छ,’ प्रमुख राईले भने, ‘त्यसपछि सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ।’

वडाध्यक्ष श्रेष्ठले पनि बुधबार राति धुलो सफा गर्ने र भोलिदेखि पिचको काम शुरू हुने जानकारी दिइन्।

असोज २९, २०८२ बुधबार १०:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।