विश्वकप यात्राको निर्णायक मोडमा नेपाल, आज अपराजित ओमानसँग भिड्दै

विश्वकप यात्राको निर्णायक मोडमा नेपाल, आज अपराजित ओमानसँग भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्सको सबैभन्दा महत्वपूर्ण खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। यो खेल जितेमा नेपालको आगामी टी-२० विश्वकप खेल्ने पक्का हुनेछ।

अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरू हुनेछ।

यो खेल प्रतियोगिताका दुई अपराजित टोलीबीचको रोमाञ्चक भिडन्त पनि हो। नेपाल र ओमान दुवैले सुपर सिक्समा समान ६ अङ्क जोडेका छन्, तर नेट रन रेटमा ओमान शीर्ष स्थानमा छ।

आजको खेलले कुनै एक टोलीको अपराजित यात्रामा पूर्णविराम लगाउनेछ भने विजेता टोली उपाधिको बलियो दाबेदार बन्नेछ।

ओमानलाई घरेलु मैदान र परिचित वातावरणको फाइदा भए पनि अल अमिरात मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहने निश्चित छ, जसले नेपाललाई घरेलु मैदानकै अनुभूति दिलाउन सक्छ।

हेड-टु-हेड तथ्याङ्कमा पनि नेपाल ओमानभन्दा बलियो देखिन्छ। अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ।

यस प्रतियोगितामा नेपालको प्रदर्शन अविश्वसनीय पुनरागमनले भरिएको छ। विशेषगरी बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले हारको मुखबाट जित खोसेको छ। कतारविरुद्धको खेलमा सन्दीप लामिछानेले लिएको पाँच विकेट यसको उदाहरण हो।

तर, ब्याटिङ भने नेपालको मुख्य चिन्ताको विषय बनेको छ। मध्य ओभरमा सुस्त रन गति र ब्याटरहरूको कमजोर स्ट्राइक रेट सुधार गर्नुपर्ने चुनौती छ।

आजको खेलमा कप्तान रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने, ओपनर कुशल भुर्तेल, आसिफ शेख र अलराउन्डर गुल्सन झाको प्रदर्शनमा टोली निर्भर रहनेछ।

नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।

असोज २९, २०८२ बुधबार ०९:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।