पोखरामा खेलौना पेस्तोल देखाएर लुटपाट, एक युवक पक्राउ

कास्की : कास्की प्रहरीले पोखरामा खेलौना पेस्तोल देखाएर एक महिलालाई लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-१ घर भई हाल पोखरा-२० भलाम बस्ने २४ वर्षीय सुजन विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, विकले सोमबार पोखरा-१२, शितलादेवीकी देविकला अधिकारीलाई पेस्तोल देखाएर धम्क्याउँदै लुटपाट गरेका थिए।
पीडितले घटनाबारे जानकारी दिएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले विकलाई नियन्त्रणमा लिएको हो।
कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार, प्रहरीले विकको साथबाट लुटपाटमा प्रयोग भएको एक थान खेलौना पेस्तोल र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका विकमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
असोज २९, २०८२ बुधबार ०८:५७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।