विदेश पढ्न जानेले एक महिनामा लगे ३३ अर्ब

काठमाडौं : उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीमार्फत देशबाट बाहिरिने रकम बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै विद्यार्थीले अध्ययनका लागि रु. ३२ अर्ब ७६ करोड विदेश लगेका छन्।
यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब साढे चार अर्ब रुपैयाँले बढी हो। गत वर्ष भदौमा विद्यार्थीले रु. २८ अर्ब २० करोड लगेका थिए।
राष्ट्र बैंकका अनुसार, विद्यार्थीले लैजाने यो रकम सेवा खाताअन्तर्गतको ‘भ्रमण व्यय’मा गणना हुन्छ।
समीक्षा अवधिमा समग्र भ्रमण व्यय ९.६ प्रतिशतले बढेर रु. ४७ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च रु. ४३ अर्ब १८ करोड थियो।
एकातिर भ्रमणमा खर्च बढ्दा अर्कोतिर भ्रमणबाट हुने आम्दानी भने न्यून देखिएको छ। समीक्षा अवधिमा भ्रमण आय ९.८ प्रतिशतले बढेर रु. ११ अर्ब ५८ करोड पुगेको छ।
यसरी आयभन्दा व्यय अत्यधिक बढेका कारण देशको खुद सेवा आय घाटामा गएको छ।
चालु आवको दोस्रो महिनासम्ममा खुद सेवा आय रु. ३१ अर्ब १६ करोडले घाटामा छ, जुन अघिल्लो वर्ष रु. २७ अर्ब ९३ करोड थियो।
असोज २९, २०८२ बुधबार ०७:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।