ओली दम्भमै रमाउँदा देउवाले स्विकारे जेन-जी आन्दोलनको तीन माग

काठमाडौं : जेन-जी आन्दोलनमा भएको आक्रोश बालुवाटारमा रहेको प्रधानमन्त्री निवाससम्म पुगेपछि भदौ २४ गते राजीनामा दिएर सेनाको हेलिकप्टरमा भागेका एमाले अध्यक्ष केपी शर्मा ओली लगभग ८ दिनपछि मात्र सेनाको ब्यारेकबाट बाहिर निस्किए।
आन्दोलन चर्किएर प्रधानमन्त्री निवासै आक्रमणको निशानामा पर्ने जोखिम बढेपछि उनी परिसर भित्रैबाट श्रीमतीसहित हेलिकप्टरमा भागेका थिए। सेनाले उनलाई सुरक्षित राख्न कुलेखानी नजिकको सैनिक ब्यारेकमा लगेर एक साता बढी राख्यो।
भक्तपुरमा रहेको घर प्रदर्शनकारीले ध्वस्त बनाएपछि गुन्डुतिर डेरा खोजेर उनी असोज २ गते ब्यारेकबाट डेरामा सरे। जेन-जी आन्दोलनको मुख्य कारण कुशासनसँगै उनको बढ्दो दम्भ समेत थियो।
संविधान दिवसका दिन उनले संयमित सन्देश जारी गर्दै जेन–जीको शान्तिपूर्ण हुने भनिए पनि घुसपैठका कारण षड्यन्त्रकारीहरूले हिंसा मच्चाएर युवाहरूको ज्यान गएको, सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश नदिएको तर्क गरे। उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको दाबी गर्दै घटनाको छानबिनको माग गरे। घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे।
सरकारले २३ र २४ गतेको घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरे लगत्तै आयोगले केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितको राहदानी रोक्का र उपत्यकाबाहिर जाँदा पूर्व अनुमति लिनुपर्ने निर्णय गर्यो।
त्यसपछि ओलीको बोली बदलिँदै गयो। पहिला आन्दोलनप्रति नरमै शब्द प्रयोग गरेका उनी सरकारप्रति आक्रामक देखिन थाले। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर आफू नभाग्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उत्ताउलो नहुन चेतावनी दिए।
सरकारले गठन गरेको जाँचबुझ आयोग अस्वीकार गर्ने र संसद् विघटन विरुद्ध न्यायिक उपचार खोज्ने लगायतका रणनीति बनाएपछि ओली र एमाले नेताहरू जेन-जी आन्दोलनपछिको अवस्थाबारे सामाजिक सञ्जालमा समेत तितो पोख्न सक्रिय छन्।
केपी ओली बालुवाटारबाट भाग्न भ्याए पनि सरकारमै रहेको अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको श्रीमती तथा बहालवाला परराष्ट्रमन्त्री आरजु राणा भने बुढानीलकण्ठको आफ्नै निवासमा कुटिए। सुरक्षाकर्मीले बल्लबल्ल उद्धार गरेर बेलुका ८ बजे अस्पताल पूर्याइएको उनी जेन-जी आन्दोलनको करिब एक महिनापछि आफ्नै पार्टी कार्यालयमा मंगलबार सार्वजनिक भए।
कुटपिटकाक्रममा गहिरो चोट लागेका दुवैको लामै समय उपचारपछि डेरा खोजेर फर्किएका उनी पार्टीको केन्द्रीय समितिको बैठकमा पनि उपस्थित नहुने सम्भावना उत्तिकै थियो। तर उनी मंगलबार श्रीमती आरजुसहित केन्द्रीय समितिको बैठकमा उपस्थित भएर लिखित सम्बोधन मात्र गरेनन् पार्टी भित्र उठिरहेको नेतृत्व हस्तान्तरणको बहस सम्बोधन गर्दै पार्टीमा कार्यवाहक सभापति समेत तोके।
उनले बैठकमा सम्बोधन गर्दा कतै ओलीकै शैलीमा जेन-जी पुस्ताको आन्दोलन र अन्तरिम सरकार दुवै अस्वीकार गर्ने त हैन भन्ने आशङ्का कायमै थियो। तर उनले जेन-जी आन्दोलनको माग स्वीकार मात्रै गरेनन् परिवर्तनको माग आत्मसात् गर्न पार्टीलाई आग्रह समेत गरे।
देउवाले स्विकारेका तीन बुँदा
जेन-जी आन्दोलनसँगै पुराना दलहरूमा नेतृत्व परिवर्तनको माग उठिरहेको छ। पार्टी नेतृत्व परिवर्तनको दबाबपछि माओवादीमा केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन भइसक्यो। एमालेमा बहस तीव्र बन्दै गएको छ। काङ्ग्रेसभित्र पनि विशेष महाधिवेशन मार्फत भए पनि नेतृत्व बदल्न दबाब बढिरहेको छ नै।
मंगलबार देउवा सार्वजनिक भएपछि उनी नेतृत्व बदल्न राजी त हुन्छन् भन्ने शंका चिर्दै उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्दै पार्टीको सभापति सधैँ एकै व्यक्ति नहुने सन्देश दिए।
स्वास्थ्यलाई कारण देखाएका देउवा पछि पुन नेतृत्वमा फर्कन कार्यवाहक दिएका त हैनन् भन्ने शंका उनी निकट नेताहरूले नै चिर्दै नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने वैधानिक बाटो खुल्ला गर्दै देउवाले पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिएको बताए। पार्टी महामन्त्री गगन थापाले प्रस्ट रूपमा देउवाले मंगलबार पार्टी सभापतिको रूपमा अन्तिम सम्बोधन गरेको बताए।
कार्यवाहक तोकेर पार्टीको सक्रिय नेतृत्वबाट विश्राम लिएका देउवाले आफ्नो सम्बोधनबाट प्रस्ट रूपमा भदौ २३ र २४ गतेको आन्दोलनमा जेन-जी पुस्ताले उठाएको सुशासनको मागको समर्थन गरे। उनले भदौ २४ गते भएको घटनालाई षड्यन्त्रको संज्ञा दिए पनि जेन-जी पुस्ताको आन्दोलनप्रति नकारात्मक धारणा राखेनन्।
उनले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भनेर जेन-जी पुस्ताले राखेको माग जायज भएको र मुलुकप्रति देखाएको चासो र चिन्ताको सम्बोधन गर्न पार्टी बैठकमा छलफल गर्नुपर्ने बताए।
उनले सरकारमा सहभागी रहेकाप्रति व्यक्तिगत टिप्पणी गरेनन्। तर सरकारको व्यवहारको भने आलोचना गरे। संविधानलाई सक्रिय गराउन निर्वाचन बाहेक अर्को वैधानिक बाटो नभएको भन्दै उनले आगामी निर्वाचनमा पार्टी सहभागी हुनुपर्ने संकेत त गरे तर पूर्वसर्तको रूपमा शान्ति सुरक्षाको विषय उठाए। अनि सरकारले शान्ति सुरक्षा बहाल गराउने पक्षमा प्रयास नगरेको र दलहरूसँग संवाद अगाडि नबढाएको भन्दै सरकारको आलोचना समेत गरे।
“सरकारले निर्वाचनको वातावरण बनाउन सकेमा देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै हो,” उनले भने “ तर सरकारे बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन।”
उनको सम्बोधनले प्रस्ट रूपमा जेन-जी पुस्ताले आन्दोलनमार्फत उठाएको मागको समर्थन गरे। तर संसद् विघटनप्रति सहमति जनाएनन्। उनले गैर संवैधानिक काम भने। संसद् बाहिरकी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र उनकै सिफारिसमा संसद् विघटन गर्ने निर्णय गरे पनि राष्ट्रपति रामचन्द्र पौडेललाई सङ्कटको समयमा पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे।
देउवा भदौ २४ मा कुटिनुको मुख्य कारण उनको निवासको सुरक्षामा खटिएको सुरक्षाकर्मीको कमजोरी समेत मुख्य कारण थियो। रगतपिच्छे हुने गरी कुटिए पनि उनले अन्तमा सुरक्षाकर्मीहरूलाई पिन धन्यवाद दिए।
सार्वजनिक भए लगत्तै एमाले अध्यक्ष ओली जेन-जी आन्दोलनपछि तरल भएको राजनीतिक वातावरण सम्हाल्नतिर भन्दा भड्काउनतिर लागे यो पक्षमा देउवा संयमित र जिम्मेवार देखिए।
असोज २८, २०८२ मंगलबार २३:१२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।