विराट मेडिकल कलेजमा रगत अभाव

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ। हस्पिटलमा उपचारका लागि भर्ना भएका, तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्।
दसैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलमा रगतको अभाव सिर्जना भएको उनको भनाइ छ।
विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएकाले टाढाटाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च रहेको दाहालले बताए। माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ।
विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज दाहालको भनाइ छ। रगतको अभाव भएपछि रगत दिनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ। हस्पिटलमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उनीहरूसम्बन्धित समूहको रगत खोजीमा भौतारिनुपर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था छ।
विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको अस्पताल प्रशासनले जनाएको छ। पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा कमी हुँदा समस्या भएको ब्लड बैंकका इञ्चार्ज दाहालले बताए। उनका अनुसार पछिल्लो समय दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गरिरहेका छन्।
उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घरोगी र नियमित रगत आवश्यक पर्ने बिरामीलाई असर परिरहेकाले सङ्घसंस्थाले रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।
असोज २८, २०८२ मंगलबार २१:२६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।