९ महिना बित्दा पनि प्रदेशले पाएनन् क्यानले दिने भनिएको रकम

९ महिना बित्दा पनि प्रदेशले पाएनन् क्यानले दिने भनिएको रकम

काठमाडौंः गत वर्षको मंसिर १५ देखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) को खर्च विवरण क्यानले एक पत्रमार्फत गत साउन १५ गते सार्वजनिक गरेको थियो। उक्त पत्रमा कुल आम्दानी, कुल खर्च, टिमलाई दिने रकम, क्यानले बचत गर्ने रकम तथा प्रदेशलाई दिने रकम उल्लेख गरिएको थियो।

त्यही साउन १५ गते बसेको क्यानको बोर्ड बैठकमा सचिव पारस खड्काले एनपिएलको खर्च विवरण सार्वजनिक गर्दै क्रिकेटका गतिविधि अनुसार जिल्लालाई ५ देखि १० लाख र प्रत्येक प्रदेशलाई १० लाख दिने घोषणा गरेका थिए। तर क्यानले दोस्रो सिजनको एनपिएल मंसिर १ गतेदेखि आयोजना गर्ने घोषणा गरिसक्दा समेत प्रदेश र ग्रेड अनुसारका जिल्लाहरूले अझै रकम पाएका छैनन्।

यसबारे उकेराले क्यान प्रवक्ता छुम्बी लामालाई सोध्दा उनले ‘ए, त्यो गर्दैछ होला, गरिरहेको होला। अब त्यो प्रदेशलाई छुट्याएको पैसा पाइहाल्छ नि, गै हाल्छ नि,’ भन्दै गैरजिम्मेवार जवाफ दिए। अर्को एनपिएलको तयारीमा क्यान लागिसकेको भए पनि प्रदेशलाई दिने भनिएको रकम किन नदिएको भन्ने प्रश्नमा उनले पुनः भने, ‘हो, हो, ठिक हो। गईरहेको छ है।’ 

उता चितवन जिल्लाका कार्यवाहक अध्यक्ष उमेश पियाका अनुसार क्यानले क्रिकेटका गतिविधि बढी भएका जिल्लालाई ग्रेड अनुसार रकम दिने र हरेक प्रदेशलाई १० लाखको दरले वितरण गर्ने घोषणा गरेको भए पनि १ वर्ष हुन लाग्दा समेत कुनै रकम नआएको बताए। उनले उकेरासँग भने, ‘प्रदेश र जिल्लालाई दिने भनेर अध्यक्ष र सचिवले बैठकमा नै भन्नुभएको थियो। जिल्लाको सवालमा ग्रेडिङ गरेर ५ देखि १० लाखसम्म दिने कुरा थियो। तर न त जिल्लाले पाएको छ, न त प्रदेशले नै पाएको छ।’

त्यस्तै, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पनि रकम घोषणा भए पनि अहिलेसम्म प्राप्त नभएको बताए। उनले भने, ‘प्रदेशको भागमा १० लाख रुपैयाँ छुट्याइएको छ। अहिलेसम्म आएको छैन। क्यानबाट आएको पैसा खेलाडीमै लगानी होस् भन्ने योजना छ। तर अहिलेसम्म आएको छैन। बोर्ड बैठकमा अध्यक्षजी र सचिवजीले नै घोषणा गर्नुभएको कुरा हो। हेरौँ, कहिले आउँछ।’ 

साउन १५ गते बसेको क्यान बोर्ड बैठकमा सचिव पारस खड्काले खर्च विवरण सार्वजनिक गरेका थिए। क्यानले एक पत्रमार्फत कुल आम्दानी, कुल खर्च, टिमलाई दिने रकम, प्रदेशलाई दिने रकम र क्यानले बचत गर्ने रकम उल्लेख गरेको थियो। तर उक्त विवरण बोर्डबाट पास हुन सकेको थिएन। सदस्यहरूले खर्च विवरण स्पष्ट नभएको भन्दै प्रश्न उठाएका थिए।

क्यानले सार्वजनिक गरेको विवरण अनुसार आम्दानी र खर्च घटाउँदा ७ करोड ५३ लाख ५१ हजार रुपैयाँ बचत भएको उल्लेख छ। त्यस बचत रकमको ५० प्रतिशत अर्थात् ३ करोड ७६ लाख ९५ हजार ६ सय २९ रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीलाई बाँड्ने र बाँकी ५० प्रतिशत क्यानले राख्ने भनिएको थियो। बाँकी रकमबाट ७० लाख सातवटै प्रदेशलाई वितरण गर्ने र बाँकी २ करोड ४६ लाख ५० हजार क्यानमा रहने भनिएको थियो।

तर हालसम्म न प्रदेशहरूले उक्त रकम पाएका छन्, न फ्रेन्चाइज टोलीहरूले नै बाँडफाँड भएको रकम प्राप्त गरेका छन्।

क्यानले सार्वजनिक गरेको विवरण अनुसार कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ छ भने कुल खर्च २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ देखाइएको छ। त्यसअनुसार कुल आम्दानीबाट खर्च घटाउँदा ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ रुपैयाँ बाँकी रहन्छ।

नेपाल प्रिमियर लिग आयोजक परिषद्ले उक्त रकमको ५० प्रतिशत क्यानलाई र ५० प्रतिशत फ्रेन्चाइज टोलीहरूलाई बाँड्ने सहमति गरेको थियो। त्यस अनुसार ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ को ५० प्रतिशत बराबर ३ करोड ७६ लाख ९५ हजार ६ सय २९ रुपैयाँ दुवै पक्षलाई बाँडफाँड हुनुपर्ने हो। तर हालसम्म कुनै पनि टिमले उक्त रकम प्राप्त गरेको छैन।

यता, क्यानले आफ्नो भागमा रहेको रकमबाट सात प्रदेशलाई १० लाखको दरले ७० लाख दिने भनेको थियो। तर हालसम्म क्यानले स्पष्ट जवाफ समेत दिन सकेको छैन।

असोज २८, २०८२ मंगलबार २१:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।