हल्लै हल्लामा थन्कियो ‘महाराजधिराज’

हल्लै हल्लामा थन्कियो ‘महाराजधिराज’

काठमाडौंः नेपाली फिल्ममेकरहरू फिल्मका लागि कलाकार बटुल्छन्, अनुबन्धको हल्ला फिँजाउँछन्, तर अन्तिममा फिल्म निर्माणमा जान्नै सक्दैनन्। लाग्छ उनीहरू चर्चा र हल्लाका लागि मात्रै फिल्म निर्माणको घोषणा गर्छन्।

डेढ वर्षअघि फिल्म ‘महाराजधिराज’ टिमले अभिनेता पल शाहलाई अनुबन्ध गरेको थियो। पललाई अनुबन्ध गरेको झण्डै एक वर्षपछि उनी बाहिरिए। त्यसपछि गत जेठको पहिलो हप्तामा सोही फिल्मको मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्कालाई अनुबन्ध गरिएको थियो।

पुष्पलाई अनुबन्ध गर्नुअघि नै यो फिल्मका लागि वर्षा सिवाकोटी, वर्षा राउत, आर्यन सिग्देल, रमेश उप्रेती र जयकिशन बस्नेतलाई पनि साइन गरिएको थियो। त्यसबेला कलाकारको लाइनअप नै पूरा भएको चर्चा चल्यो।

तर पुष्प खड्कालाई अनुबन्ध गरेको करिब छ महिनासम्म पनि फिल्म फ्लोरमा पुगेको छैन। निर्माण हुने नहुनेबारे अहिले कुनै चर्चा छैन। फिल्म बन्छ कि बन्दैन थाहा छैन।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने भनिएको ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनी पनि लामो समयदेखि यस फिल्मसम्बन्धी कुनै पोस्ट सामाजिक सञ्जालमा नगरेको पाइन्छ।

गत दसैंको फूलपातीमै फिल्म रिलिज गर्ने हल्ला गरिएको थियो। तर तिहार लाग्दासम्म पनि छायांकन सुरु हुन सकेको छैन। यो फिल्ममा लगानी टोमेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले गर्ने चर्चा थियो। फिल्मका लेखक तथा निर्देशक परिच्छेद सेन हुने भनिएको थियो।

सुरुवातमा निर्माण पक्षले यस फिल्मका लागि पल शाहलाई मुख्य भूमिकामा घोषणा गर्दै पोस्टर पनि सार्वजनिक गरेको थियो। पोस्टरमा सिंहासनमा बसेका पललाई ‘ख्याउटे’ रूपमै देखाइएको थियो, जसले निकै चर्चा र विवाद दुवै बटुलेको थियो।

तर त्यसपछि उनी आफैंले आफ्नै ब्यानरमा फिल्म निर्माण गर्ने बताउँदै टिमबाट बाहिरिए। कतै फिल्म नबन्ने थाहा पाएरै बाहिरिएका त होइनन्? प्रदर्शन मिति असोज १३ तोकिएको यो फिल्म तिहार लाग्दासम्म पनि छायांकनको सुरसार नहुँदा अब फिल्म बन्छ कि बन्दैन। प्रश्न उठ्न थालेको छ।

असोज २८, २०८२ मंगलबार २०:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।